वीरगंज । प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, निजको छोरा १४ वर्षीय विशाल पोख्रेल, ९ वर्षीय विकाश पोख्रेल रहेका छन् ।
त्यसैगरी लमही नगरपालिका –५ का ४९ वर्षीय ताराबहादुर कुमाल, लमही नगरपालिका –७ का ४० वर्षीय गोविन्द शाह, निजको श्रीमती ३० वर्षीया राधा शाह र नीजको ९ वर्षीय छोरा आदित्य शाह रहेको प्रहरीले जनाएको छ । एक जना बालकको पहिचान खुल्न बाँकी छ ।सडकको माथिल्लो घुम्टीबाट पल्टिएर तल्लो घुम्टीमा पुगेको कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। मृतकको शव जिल्ला अस्पताल विजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।