आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी हरेको अवस्थामा अर्थमन्त्री डा. रामशरण महतले आइतबार संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा देशको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने जनाएको हो।
गत वर्षभन्दा देशको आर्थिक वृद्धिदर आधाले घट्ने अनुमोदन सरकारले गरेको हो। गत वर्ष ५.४६ प्रतिशत वृद्धिदर हासिल भएको थियो।
अर्थमन्त्री महतले संसदमा पेश गरेको सर्वेक्षणमा चालु आर्थिक वर्ष २०७९/८० मा कृषि र गैरकृषि क्षेत्रको उत्पादन (कुल मूल्य अभिवृद्धि) क्रमशः २.७३ प्रतिशत र १.९२ प्रतिशतले बढ्ने अनुमान छ।
गत आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन २.२४ प्रतिशतले वृद्धि भएको थियो भने गैरकृषि क्षेत्रको उत्पादन ६.५६ प्रतिशतले बढेको थियो।
चालु आर्थिक वर्षमा धानको उत्पादन ६.९ प्रतिशतले वृद्धि भएतापनि हिउँदे वालीको उत्पादन तथा दूध, मासु, अण्डा लगायतको उत्पादनमा आएको कमीले गर्दा कृषि क्षेत्रको उत्पादन सामान्य रहेको छ। गैर कृषि क्षेत्रतर्फ उद्योग, निर्माण तथा थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन घट्ने र अरू सबै क्षेत्रको बढ्ने अनुमान सरकारले गरेको छ।