वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको शुक्रवार निधन भएको शोकमा उपमहानगरपालिकाले आज आइतबार शोक विदा दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले सूचना जारी गर्दै नगर प्रमुख र उपप्रमुखको निर्देशन बमोजिम उपमहानगरपालिका र मातहतका कार्यालयमा आइतबार शोक विदा दिइएको जनाएका छन् ।
सडक ढलान योजना शिलान्यास कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा अस्वस्थ भएकी चौधरीको निधन भएको थियो । पेटमा समस्या देखिएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा चौधरीको निधन भएको बुझिएको छ ।
चौधरीको निधनप्रति उपमहानगरपालिकाको कार्यालयले शोक वक्तव्य समेत जारी गरेको थियो । नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिृकत पुरीले सामूहिकरुपमा हस्ताक्षर गर्दै शोक वक्तव्य जारी गरेका थिए ।