वीरगंज | वैशाख बितिसक्दा पनि पर्सा जिल्लामा पानी नपरेको कारण जमीन मुनि पानीको सतह घट्दै गएको छ । जमीन मुनिको पानीको सतह घटेको कारण अहिले पर्साका प्रायः १४ वटै पालिकाहरूमा चापाकल र बोरिङ सुक्न थालेका छन् । अहिले पानीको सतह घटेको कारण शहर बजारमा एकाबिहानै र अबेर राति मात्र चापाकलबाट पानी आउँछ । शहरी जीवनलाई खानेपानी संस्थानले सघाएको छ भने चापाकलको आसमा रहेका परिवारले सकस भोग्नुपरेको छ । पछिल्लो समयमा ठूला–ठूला व्यापारिक भवनहरू अपार्टमेन्ट, सपिङ्ग कम्प्लेसहरू बनेसँगै महानगरमा पनि डीप बोरिङ्ग गरिएको छ । डीप बोरिङ्ग भएको करीब सय फिट वरिपरिका क्षेत्रका चापाकलहरू सुकेका छन् ।
डीप बोरिङ महानगरको स्वीकृति लिएर मात्र बनाउने कानूनी प्रावधान छ तर कतिपयले विनास्वीकृति डीप बोरिङ गरेका छन् । अहिले जमीनमुनिको पानीको सतह कम भएपछि ठोरी गाउँपालिकाका विभिन्न बस्तीहरूमा चापाकल र बोरिङ सुक्न थालेको र सो क्षेत्रमा पानीको अभाव बढेको जनाइएको छ । ठोरी गापा–५ गडुवालाइन, क्षत्रीलाइन, बाघमोर्चा, आठघरे, बुद्धटोल, वडा नं ४ विजयबस्ती, गोपीबस्ती, मालीबस्तीलगायत क्षेत्रमा चापाकल र बोरिङ सुकेर पानी आउन कम भएको छ भने मानिसलाई दैनिकी गर्जो टार्न पनि पानी अभावले समस्या भएको छ ।
ठोरी गापा–५ गडुवालाइन निवासी देवीप्रसाद दाहालले साठी फिट लामो पाइप जडान भएका बोरिङ्ग तथा इनार पनि सुकेको बताए । कुनै बोरिङ्ग नसुके पनि दमकल तथा वाटर पम्पबाट पानी तान्न नसकिएको दाहालको भनाइ छ । दमकल वा वाटर पम्प बोरिङ्ग सँगै १२/१५ फिट खाल्डो खनेर किसानहरूले पानी तानेको उनले बताए । सो टोलकी कृष्णमाया श्रेष्ठले चापाकल पाँच महीनादेखि सुकेको बताइन् । क्षत्रीलाइन निवासी शङ्कर बुढाथोकीले खेतमा रहेको बोरिङ्ग नसुकेपनि २५ प्रतिशत पानी कम भएको बताए । ठोरी गापा–४ निवासी रामबहादुर श्रेष्ठले बोरिङ्गबाट आउने पानी आधा कम भइसकेको बताए । सिंचाइमा उत्पन्न समस्याका कारण अहिले लगाएको उखु, सुर्ती र मकैबाली पानी अभावमा सुक्न लागेको उनले बताए । वडाध्यक्ष अष्टबहादुर लोप्चनले जमीन मुनिको पानीको सतह घटेका कारण समस्या उत्पन्न भएको बताए । पानी सुके पनि खानेपानीका लागि ओभरहेट टङ्की र डिप बोरिङ्गमा सबमर्ज पम्प लगाएर पानीको आपूर्ति भइरहेको उनले जानकारी गराएका छन् । प्रतीक दैनिकको लागि ओमप्रकाश चौधरीलेखेको समाचार।