पर्सा l पर्साको पटेर्वासुगौली गाउँपालिका ५, निचुटामा मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लागूऔषध दुव्र्यसन विरुद्धको कार्यक्रम सम्पन्न भएको छ । पटेर्वासुगौली गाउँपालिका र सानो पाइलाको संयुक्त आयोजनामा सुरु भएको एक्शन फर ड्रग फ्रि कम्युनिटी नामक अभियान अन्तर्गत निचुटा माविमा कार्यक्रम सम्पन्न भएको हो ।
हरेक वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेत गराउने उद्देश्यका साथ अभियान सुरु गरिएको हो ।
आईतबार सम्पन्न भएको कार्यक्रममा सामुदायिक पुनस्र्थापना केन्द्रका कार्यक्रम संयोजक राज कुमार तामाङ्ग र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक राम राजा केशरीले सहभागि विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन र यसले पार्ने नकारात्मक प्रभावका विषयमा प्रशिक्षण दिनुभएको थियो । करिब १ सय ५० जना विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको सत्रमा विद्यार्थीहरुले प्रशिक्षकद्वयले समेट्नुभएका विषयवस्तुमा जिज्ञासा समेत प्रकट गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिनेश चौधरीले लागूऔषध जस्तो विकराल समस्याको समाधानको लागि सबैको साथ अनिवार्य रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई यस अभियानमा जोडिन आह्वान गर्नुभयो । गाउँपालिका क्षेत्रभित्र व्याप्त रहेका समस्याहरुको समाधानका लागि गाउँपालिका सदैव प्रयासरत रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका चौधरीले विद्यार्थीहरुलाई असफलताबाट नडराउन अभिप्रेरित समेत गर्नुभयो । “जीवनमा असफलता आइरहन्छन्, तर, हिम्मत नहारेर प्रयास गरिरहनु नै सफलताको पहिलो खुड्किलो हो” उहाँले भन्नुभयो,“हतास नभएर लक्ष्यमा सदैव अडिग रहनुस्” । विद्यार्थीहरुमाथि विद्यालय वा समुदायमा आइपर्ने कुनै प्रकारको समस्याको लागि गाउँपालिका सदैव तत्पर रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
विशेष गरी विद्यालय पढ्ने उमेर समूहका युवाहरु लागूऔषधको दलदलमा फस्ने सम्भावना हुनेप्रति चिन्ता व्यक्त गर्दै गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले सही मार्गमा हिँड्नका लागि सबैले प्रेरित गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । भविष्यको कर्णधारको रुपमा रहेका बालबालिकाहरु अनाहकै लागूऔषधको कुलत फस्ने गरेको तर्फ सचेत गराउनुहुँदै उहाँले आफ्नो लक्ष्य प्रति अडिग रहन विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । “लागूऔषध दुव्र्यसन जस्तो विकराल समस्याको समाधानका लागि तपाईहरु पनि सहयोग चाहिएको छ, आजको कार्यक्रमबाट तपाईहरुले पाउनुहुने सन्देश समुदायसम्म पुर्याउन गाउँपलिकालाई सहयोग गर्न‘स्” उपाध्यक्ष महतोले भन्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम घिमिरे, स्थानिय समाजसेवी जीतु चौधरीलगायतकाहरुको उपस्थिती थियो । अभियान प्रहरी–समुदाय साझेदारीमा सञ्चालित छ ।