मेयरसाब ! मैले के अपराध गरेँ ?
दिउँसोको साढे १२ बजेको थियो । गुहार माग्दै डाँको छोडेर याचना मागेको आवाज शिलापत्रको कार्यालयभित्रै आइपुग्यो । ‘मलाई छोड्दिनुहोस् । मेरो छोरा पाल्नुपर्छ । सासू ससुरा हेर्नुपर्छ,’ एक महिला चिच्याइरहेकी थिइन् । तर, उनको चीत्कार सुन्ने पक्षमा थिएनन्, उनीहरू । उनीहरू अर्थात् काठमाडौं महानगरपालिकाको नगर प्रहरीको एक समूह ।
नगर प्रहरीले मूल सडकबाट लखेट्दै ति महिलालाई शिलापत्रको गेटमा ल्याइपुर्याएको थियो । ति महिला आत्तिएर गाडामुनि लम्पछार परिन् । दुई हात जोडेर बिन्ती दर्शाइन् तर प्रहरीले उनको गाडा छोड्न चाहेन । ४–५ जना प्रहरीको समूहसँग ति एक्ली महिला निरीह देखिन्थिन् । मकै बेचेर आएको सयको नोट, सानो छोराका लागि बोकेको जाउलो र छोराको जुत्ता भुइँमा झरेको थियो । घुँडामा चोट लागेको थियो ।
गाडामुनि लम्पछार परेकी ति महिलालाई बाहिर निस्कन जबर्जस्त उर्दी दिँदै थिए नगर प्रहरी । ‘तपाईंको अनुहार हेर्नुपर्यो । फोटो खिच्नुपर्यो । हामी लादैनौँ,’ कर्कश स्वरमा नगर प्रहरीले भनिरहेका थिए । तर, उनी निस्कन डराएकी थिइन् ।
एकाएक मान्छेको भिड र क्यामेरा तेर्सिएपछि नगर प्रहरी हच्किए । गाडामुनिबाट ति महिलालाई तानेर नगर प्रहरीले निकाले । ‘भोलिबाट आउने कि नआउने ?’ धम्कीपूर्ण प्रश्न नगर प्रहरीले तेर्स्याए । बेचैन ति महिलाले जवाफ दिइन्, ‘आउँदिन सर ।’
‘हामीले फोटो खिचेका छौँ । आज एक दिनलाई छोडेका हौँ । भोलि पनि आयौ भने लैजान्छौँ,’ चेतावनी दिएर नगर प्रहरी मूल सडकतर्फ लागे । ति महिलाको आँसु थामिएको थिएन । शिलापत्रका सहकर्मी साथीहरूले मकैको धोक्रो गाडामा राखेर सम्झाइबुझाइ गरेपछि उनी गाडा धकेल्दै आफ्नो गन्तव्यतर्फ लागिन् ।
नगर प्रहरीले ति महिलालाई धरपकड गरेको भिडियो केहीबेरपछि शिलापत्रबाट प्रशारण गरिएको थियो । धेरैले महिलाको समर्थनमा प्रतिक्रिया दिए भने केहीले ति मकै बेच्ने महिलाको काठमाडौंमा घर छ भन्नसमेत भ्याए । गाडामा मकै बेचेर शहर अव्यवस्थित बनाएको टिप्पणीहरू पनि आए ।
‘साँच्चिकै ति महिला सम्पन्न भएरै ठेलगाडा धकेल्दै हिँडेकी होलिन् त ? शहर अव्यवस्थित यिनै महिलाले बनाएको हो ?,’ जिज्ञासा मिश्रित प्रश्न उब्जियो । अनि हामी ति महिलालाई पच्छ्याउँदै उनको डेरामा पुग्यौँ ।
उनी लमजुङ दोर्दी गाउँपालिकाकी २४ वर्षीया मनकासी घले रहेछिन् । ६ वर्षअघि बिहे गरेर श्रीमान्को साथमा उनी काठमाडौं छिरेकी हुन् । काठमाडौं छिरेलगत्तै उनले केही समय घर बनाउने लेबर काम गरिन् । शरीरले साथ नदिएपछि ठेलागाडामा मकै डोर्याउन थालेकी रहेछिन् । ‘७ महिनाको हुँदा आगोले हात जलेको थियो । गाह्रो काम गर्न मिल्दैन । लेबर काम गर्न नसकेर ठेलागाडामा मकै बेच्न थालेकी हुँ,’ आगोले जलेको हातपाखुरा देखाउँदै उनले भनिन् ।
मीनभवन र शंखमुल नजिकै छ उनको टहराको सानो कोठा । ‘कोठाभाडा ४ हजार छ,’ उनले भनिन्, ‘मकै बेचेर छाक टार्नुपर्ने बाध्यता छ ।’ कोठमा छरप्रस्ट थिए सामान । मानसिक बिरामीले थिलिएका उनका ६० वर्षीय ससुरा विस्तारामा झोक्रिएर बसेका थिए । ‘श्रीमानले घर व्यवहार हेर्नुहुन्न । मकै बेचेरै सासूससुरा र छोरालाई पाल्नुपर्छ । लागुपदार्थमा फसेका श्रीमान्को अत्तोपत्तो छैन । गाडा ननिकाले ससुरालाई औषधि, छोराको स्कुलको शुल्क र बिहान बेलुकाको छाक कसरी टार्ने ?,’ प्रश्न गर्छिन् उनी ।
सानैमा आमा गुमाएकी उनी श्रीमान्ले साथ नदिएपछि सासूससुरा पाल्ने जिम्मेवारी उनकै काँधमा आयो । ‘श्रीमान्लाई सुधार्न धेरै प्रयास गरेँ, सकिनँ । सासूससुराको माया लाग्छ । उहाँहरूलाई छोडेर कतै गएकी छैन,’ उनले भनिन् ।श्रीमान्ले साथ नदिएपछि साढे दुई वर्षको छोरा उनले ठेलागाडामै बोकेर हुर्काइन् । ‘घामपानी नभनेर ठेलागाडामै बोकेर हुर्काएको । यसपालि स्कुल भर्ना गरेकी छु । नगरपालिकाले ठेलागाडा चलाउन दिँदैन अब कसरी पढाउने ?,’ उनी महानगरलाई प्रश्न गर्छिन् ।
हरेक दिन बिहान ४ बजे नै उनी मकै लिन तीनकुने बजार पुग्छिन् । ७ बजे कोठामा आइपुग्छिन् । छोरोलाई खाना खुवाएर गाडामै राखेर स्कुल पुर्याउँछिन् । ‘मकै बेच्दै छोरोलाई स्कुल छोड्ने गरेको छु । छोराको टिफिन गाडामै बोकेर जान्छु,’ उनी भन्छिन्, ‘१ बजे स्कुलमा लिन जान्छु ।’
बिहीबार (हिजो) छोरालाई स्कुल लिन जाँदै गर्दा महानगरको घेरामा परेकी थिइन् उनी । ६० घोगा मकैमा २० घोगा बेचेकी पनि थिइन् । ‘एकाएक महानगर प्रहरीले लखेट्यो । आँखै देखिनँ । चिच्याएर गाडामुनि छिरेको । धनीले बाँच्न पाउँछ भने गरिबले पनि पाउनुपर्छ । कमाएर खान दिनुपर्छ,’ मनकासी महानगरप्रति आक्रोश पोख्छिन्, ‘गाडा खोसेपछि पेट भोकै बस्छ, मन आत्तिदैन त ।’
लेबर काम गरेर जम्मा गरेको पैसाले उनले गाडा किनेकी रहेछिन् । ‘दुःख, पसिनाका धारा बगाएर ९ हजारमा किनेको गाडा खोसेपछि के हुन्छ ? एउटा हात चल्दैन, एउटा हातले गाडा ठेल्नुपर्छ । धनीले जे गर्न नि मिल्ने । हामीले ठेला चलाउन नपाइने हो ? के गरी खाने उपाय दिनु पर्यो नि,’ उनी महानगरसँग विकल्प माग्छिन् ।
उनी मात्र होइन, उनीजस्ता कैयौँ सडक व्यापारीले महानगरसँग विकल्प मागिरहेका छन् । ‘बिहान वा बेलुका निश्चित समय दिए पुग्छ । तोकेको समयमा काम गर्छौं । छाक टार्न पुग्ने भए पुग्छ,’ उनी भन्छिन्, ‘कहिलेसम्म महानगरको डरमा गाडा लिएर हिँड्ने ?’
गाडा निकाल्ने कि ननिकाल्ने दोमनमा छिन् उनी । ‘गाडा निकालौँ महानगरले पक्रिन्छ । ननिकालौँ पेट भोकै हुन्छ । मेयर बालेन्द्र शाहलाई सोध्छिन् उनी, ‘फेरि भोट माग्न आउनु त पर्ला नि । गरिबको आँसु लाग्ला । मेयरसाब अब के गरौँ ?’