काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को पोखरामा सुरु भएको बोर्ड बैठक ७ जना केन्द्रीय सदस्यले बहिष्कार गरेका छन्। उनीहरुले नेतृत्वले अक्ष्म्य गल्ति गरेको भन्दै मंगलबार सुरु भएको बैठकमा सुरुवातमा नै नेतृत्वको राजीनामा माग्दै बैठक बहिस्कार गरेका हुन्।
क्यानका असन्तुष्ट सदस्य सञजय राज सिंहले आफूहरुले केही दिनअघि पत्रकार सम्मेलन गरेर भनेको माग नै बैठकमा राखेको बताए।
उनले भने, ‘हामीले बैठकको सुरुवातमा नै नेतृत्व पंक्तिले राजीनामा गर्नुपर्ने लिखित माग राख्यौँ। साथै आफ्नो धारणा बैठकमा राखेर राजीनामा नदिएसम्म बैठमा उपस्थित नहुने अडान राख्दै बाहिरिएका हौँ।’
उनले बैठकमा पुनः सहभागी हुने कुनै सम्भावना नरहेको बताए। सिंहले भने, ‘हाम्रा माग पूरा नभएसम्म बैठकमा उपस्थित हुने सम्भावना छैन।’ उनले क्यानलाई पुनः निलम्बनमा लाने खेलमा नेतृत्व पंक्ति लागेको भन्दै मार्गप्रशस्त गर्नुबाहेकको विकल्प नदेखिएको बताए।
क्यानको संस्थापन पक्षले १७ एजेन्डासहित मंगलबार बैठक आह्वान गरेको थियो। केही दिनअघि क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले क्यान नेतृत्वको राजीनामा माग गर्दै पत्रकार सम्मेलन गरेका थिए।
पत्रकार सम्मेलनमा असन्तुष्ट पक्षले कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल टी–२० लिगका दौरान भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै लिगका दौरान स्पट फिक्सिङ भएको र गैरकानुनी काम भएकोमा दुःख व्यक्त गर्दै नेतृत्वको राजीनामा माग गरेका थिए। उनीहरूले सेभन थ्री स्पोर्टससँगको सम्झौताको विषयमा सुरुवातदेखि नै प्रश्न उठाएको बताएका थिए।
असन्तुष्ट पक्षले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंहले पत्रकार सम्मेलन गर्दै नेपाल टी–२० लिग सञ्चालन गल्ती भएको स्वीकार गरेको भन्दै जानाजान गल्ती भएकाले राजीनामा बाहेकको विकल्प नभएको बताएका थिए।