वीरगंज । जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुब यादव पक्राउ परेका छन् । बचतकर्ताबाट संकलित लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा धनुषा प्रहरीले यादवलाई पक्राउ गरेको हो । न्यु शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनुषाको संचालक समितिका अध्यक्ष यादवलाई संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए ।
प्रहरीका अनुसार एकजना सहकारीका बचतकर्ता कुभोलिया देवी यादवले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरेपनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरि लिलामीको अवस्थामा पुर्याएकोले उनले दिएको उजुरीका आधारमा यादवलाई ठगी मुद्दामा पक्राउ गरिएको हो । ‘प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरि यादवले करिब २५ लाख रुपैयाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको अभियोग देखिएको छ,’ डीएसपी रायले भने ।
ठगी मुद्दाको अनुसन्धानको सिलसिलामा जिल्ला अदालत धनुषाको पुस २९ गतेको आदेशानुसार प्रतिवादी यादवलाई खोज तलाश गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बाट पक्राउ गरी ठगी मुद्दा शिर्षकमा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।