काठमाडौं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रहरूलाई निर्देशित गरेको छ । बैठकले माघ २ गते सोमबारलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरेको छ । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ ।
बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ । साथै सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ । त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेकोसमेत बैठकले जनाएको छ।