वीरगञ्ज । माघे संक्रान्ति तथा थारु सम्बत २६४७ वीरगञ्जमा भब्य रुपमा मनाउने तयारी थालिएको छ । विगतका वर्ष जस्तै खिंचडी (माघी) पर्ब भव्यताका साथ मनाउने तयारी अन्तिम चरणमा रहेको माघी मूल समारोह समितिले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो ।
वीरगन्जको आदर्शनगर स्थित पुरानो बसपार्क परिसरमा माघी समारोह आयोजना गर्न लागिएको हो । खिंचडी समारोहमा आइतबार रक्तदान कार्यक्रम, थारु सांस्कृतिक झलक (घाटो, समाचकेवा, झम्टा नाच) प्रस्तुती आयोजना गर्नुका साथै महोत्सवस्थलमा थारु, मधेसी, नेवार, मारवाडी, मैथली समुदायमा लोकप्रिय रहेका खानाका विभिन्न परिकारहरुको स्टल पनि राखिने कार्यक्रम संयोजक रामसुन्दर चौधरीले जानकारी दिए ।
खाना स्टलमा घोङ्गी, केकडा(गंगटो), माछा, हाँस, कुखुरा र परेवाको मासु, चिचर, तिल र भुजाको लड्डु लगायतका परिकारहरु प्रदर्शनी र बिक्रीका लागि राखिनेछ । आइतबार बिहान साढे ११ बजे घण्टाघर चोकबाट प्रभातफेरि निकालिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
रौतहटको गुजरा नगरपालिकाको लक्ष्मी प्राविका जग्गादाता एंव समाजसेवी लक्ष्मी चौधरीको प्रमुख आतिथ्यता एंव रामसुन्दर चौधरीको संयोजकत्वमा हुने माघी महोत्सवमा पर्सा , बाराका थारु समुदायका अगुवाका साथै सामाजिक अभियन्ता, राजनीतिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी लगायतको पनि सहभागीता रहने छ ।