जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ ।
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।
मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरियतामा रहेको जसपालाई नेकपा एमालेको २३,जनमत पार्टीको १३,माओवादी केन्द्रको ७,राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको १-१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित कुल ६३ जना प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ । यहाँ माओवादी केन्द्रका ९ सांसद भए पनि दुई जनाको शपथ रोकिएको छ । लोसपाबाहेक नेपाली कांग्रेस र एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैन। मधेश प्रदेश सभामा १०७ सांसद छन्।