वीरगंज । शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड त्यहाँबाट बाहिरिएका हुन् । माओवादी केन्द्रका एक नेताले भने, ‘बालुवाटारमा कुरा नमिलेपछि अध्यक्ष बाहिरिनु भएको छ ।’
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।