वीरगंज । अत्यधिक चिसो बढेपछि हुम्ला–चीन सीमास्थित प्रहरी चौकी विस्थापित भएका छन् । नाम्खा गाउँपालिका–५ हिल्सा र ६ नम्बर वडाको लिमीका सीमा प्रहरी चौकीलाई गर्मी महिना सुरु नहुन्जेलसम्मका लागि सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको हो ।
अत्यधिक चिसोका कारण प्रहरीलाई चौकीमा बस्न समस्या भएपछि सिमकोट झारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दीपक मल्लले बताए । उनका अनुसार उक्त क्षेत्रको तापक्रम माइनसमा झरेसँगै प्रहरीहरू सदरमुकाम आएका हुन् ।
अहिले हिल्सा र लिमीका स्थानीयसमेत बेंसी झरेकाले दुवै गाउँ सुनसान भएको उनको भनाइ छ । दुवै चौकीका प्रहरीहरू बर्सेनि मंसिरपछि भवनमा ताला लगाएर सदरमुकाम आउने गरेका छन् ।