वीरगंज । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने भएका छन् । मंसिर ४ गते सम्पन्न आम निर्वाचन, २०७९ बाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरुको लागि आज बिहिबार राखिएको शपथ लिने कार्यक्रममा सांसद् यादवले आफ्नो मातृभाषा भोजपुरीमा शपथ लिने भएका हुन् । पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादव मातृभाषा भोजपुरीमा शपथ लिने पर्साबाट एकल सांसद् हुने भएका छन् ।
जिल्लाबाट प्रत्यक्ष र समानुपातिक गरी ७ जना सांसद् रहे पनि अन्यले नेपाली भाषामै शपथ लिन लागेको बुझिएको छ । आफ्नो भाषा र संस्कृतीको संरक्षण र प्रवर्द्धनका लागि भोजपुरी भाषामा शपथ लिनुका साथै संसद् भवन प्रवेश गर्ने पहिलो दिन यादवले मधेशको मौलिक पहिरन धोती कुर्ता र पगडी लगाउने पनि जनाएका छन् । ‘संसद् भवन प्रवेश गर्ने आज पहिलो दिन हो ।
आफ्नो मधेश र मधेशी समुदायको मौलिक पहिरन धोती, कुर्ता र पगडी लगाएर संसद् भवन प्रवेश गर्छु,’ यादवले भने, ‘आफ्नो मौलिकता झल्काउने पहिरन लगाएर संसद् भवनमा प्रवेश गर्दै आफ्नो मातृभाषामा शपथ लिनु मेरो लागि धेरै ठूलो कुरा हो । यसले यसको संरक्षण र प्रवर्द्धनमा पनि सहयोग पुर्याउँछ ।’गत आम निर्वाचनबाट पहिलो पटक सांसद्का रुपमा निर्वाचित हुँदा पनि यादवले मधेशको मौलिक पहिरन धोती, कुर्ता र पगडी लगाएर भोजपुरी भाषामा शपथ लिएका थिए । भोजपुरी भाषामा शपथ लिनेमा जसपाकै सांसद् रामसहाय यादव पनि रहेका छन् ।