वीरगंज । मधेश प्रदेश सभामा बैठकको तयारी भइरहेको छ । अर्को साताको आइतबार वा सोमवार सर्वदलीय बैठक बसेपछि प्रदेश सभामा नव निर्वाचित प्रदेश सभाका सदस्यहरूको शपथ ग्रहणको मिति तय हुने भएको छ । सर्वदलीय बैठकले नै प्रदेश सभाको नव निर्वाचित सदस्यहरूको शपथ ग्रहण जस्ता विषयमा छलफल हुने भएको छ । शपथ ग्रहणको मिति तोकिनु अघि प्रदेश सभाको सरसफाइ, टेबल कुर्सीको व्यवस्थापन, माइकको अवस्थाहरूको परीक्षण गर्ने काम भएको प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित कुमार यादवले जानकारी दिनु भयो ।
नयाँ दलहरू प्रवेश भएकाले उहाँहरूको व्यवस्थापन प्रदेश सरकारको निर्माण भएपछि मात्र हुने सचिव यादवले जानकारी दिनुहुँदै अहिले भएको संरचनाको प्रयोगमा शपथ ग्रहण सहितको कामकाज हुने भएको छ । शपथ ग्रहणका लागि प्रदेश सभामा निर्वाचित मध्ये ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउनु हुने छ । मधेश प्रदेशमा यस पटक दलहरूको सङ्ख्या बढेको छ । गत निर्वाचनमा निर्वाचित भएका ६ दल प्रदेश सभामा निर्वाचित भएकोमा पछि गएर नेकपा एकीकृत समाजवादी एमालेबाट विभाजित भएपछि ७ दल भएकोमा यस पटक प्रदेश सभामा १० वटा दलको सहभागिता हुने भएको छ । प्रदेश सभामा नयाँ पार्टीको रुपमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि उपस्थित भएका छन् । प्रदेश सभाको निर्वाचनमा नयाँ दलको रुपमा जनमत पार्टीले प्रत्यक्ष तथा समानुपातिक गरेर १३ सिट जितेर प्रदेश सभामा चौथो ठूलो दल भएका छन् ।
यसै गरि नयाँ दलको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीले १–१ सिट समानुपातिक तर्फ निर्वाचित भएका छन् । नेपाल संघीय समाजवादी पार्टीले पहिलो चुनाव जस्तै यस पटकको चुनावमा पनि १ सिट समानुपातिकमा निर्वाचित भएको छ । मधेश प्रदेशमा रहेको कूल १ सय ७ सिटमा सबैभन्दा बढी नेकपा एमालेले प्रत्यक्ष तथा समानुपातिक तर्फ गरेर २३ सिट, नेपाली काँग्रेसले २२, जनता समाजवादी पार्टीले १६ सिट, जनमत पार्टीले १३ सिट, लोसपाले ९ सिट, नेकपा माओवादी केन्द्रले ८, नेकपा एकीकृत समाजवादी पार्टीले ७ सिट जितेका छन् । सरकार निर्माणका लागि ५४ जनाको समर्थन आवश्यक रहेको छ । पाँचदलीय गठबन्धनलाई डा. सिके राउत नेतृत्वको जनमत पार्टीले समर्थन गरेको खण्डमा सरकार बन्ने अवस्था रहेको छ ।