वीरगंज । नेपाल सरकारले आफ्नो डेटा (तथ्यांक) सुरक्षित राख्न थप दुई डेटा सेन्टर निर्माण गर्दैछ। मंगलबार हुवावेले आयाेजना गरेकाे ‘अनलिस डिजिटल- हुवावे कनेक्ट २०२२’ मा बोल्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले ललितपुरस्थित खुमलटार र नेपालगञ्जको कोहलपुरमा डेटा सेन्टरको लागि भवन निर्माणको काम भइरहेको जनाए। सरकारले दुई वर्षभित्र यी ठाउँमा डेटा सेन्टर भवनको निर्माण काम सक्नेगरी सम्झौता गरेको समेत उनले जानकारी दिए। यसपछि प्राविधिक कार्यहरू जारी गरिनेछ।
हाल नेपाल सरकारको डेटा संरक्षणको लागि सिंहदरबारभित्र राष्ट्रिय सूचना प्रविधि केन्द्र छ। यहाँ सरकारको प्रत्येक डेटाहरूको भण्डारण हुन्छ भने यहीबाट वितरण हुँदैछ। केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेलका अनुसार उक्त सेन्टर एक दशक बढीदेखि सञ्चालित छ। यससँगै हेटौडामा डिजास्टर रिकभरी सेन्टर (विपद् पुनर्स्थापना केन्द्र) छ। उनका अनुसार यीबाहेक केन्द्रले थप दुई ठाउँमा पनि नयाँ सेन्टर सञ्चालनको लागि आवश्यक प्रक्रिया सुरू गरेको छ। हुवावेले मंगलबार ‘अनलिस डिजिटल’ आयोजना गर्दै नेपाल र एसिया प्यासिफिक क्षेत्रको प्रविधि प्रवित्ति र अवस्थाबारे विभिन्न प्रस्तुति कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सूचना तथा प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, हुवावे प्यासिफक इन्टरप्राइज बिजनेस ग्रुपका अध्यक्ष निकोलस मा, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति थियो।
त्यस्तै कार्यक्रममा विद्युतीय शासन आयोगका इन्जिनियर दिपेश विष्ट, प्रिक्सा टेक्नोलोजिका सिइओ मनिश शर्मा, जेनेसी सोलुसन्सका सिइओ प्रशन्न पोखरेल,डिसहोमबाट सिआइओ मनोज केसी र बासु बस्नेत, डिएफसी डिजिटल पावरका क्षेत्रीय निर्देशक सोमा शेखर भेरना र नेपाल विद्युत प्राधिकरण डाटा सेन्टर प्रोजेक्ट म्यानेजर तारा प्रधानको पनि प्रस्तुति थियो। तारा प्रधानले भविष्यमा सार्वजनिक संस्थानले पनि डेटा रिकभरी सेन्टर बनाउने बताए। त्यस्तै कार्यक्रममा बोल्दै मनोज केसीले नेपालमा सरकारले डेटा सेन्टरको स्तर बढाउनुपर्ने बताए। राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीपले भने भविष्यमा सरकारले निजी संस्थानका डेटा सेन्टरसँग सहकार्य गर्दै काम गर्न सकिने बताए।