वीरगंज । पर्सामा एक विवाह समारोहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका-३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो । बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको थियो ।
प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोली पुगेर उनलाई अस्पताल लगेको थियो । उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । घटनाबारे बुझ्दा सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहलार्ई कुटपिट भएको थियो ।
मंगलबार राति ११ बजेतिर साबिरको विवाहमा नाचगान गर्ने विषयमा विवाद भएको थियो । सैमुल्लाहले नाच्न नदिएको भन्दै विवाद हुँदा दुलाहा साबिर, काका जादुल राउत गद्दी लगायतले कुटपिट गरेको स्थानीयले बताएका छन् । सैमुल्लाहको शव नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।