वीरगञ्ज । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ । मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
सभापति देउवालाई संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको बताइएको छ ।
एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति देउवालाई साथ दिने बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै रहेका छन् ।
दलको नेतामा सभापति देउवासँग कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रतिस्पर्धा गर्न लागेका हुन् । थापालाई पार्टी उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगै नेताहरु शेखर कोइराला, प्रदीप पौडेललगायतको साथ रहेको छ ।
कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज (बुधबार) बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ ।