वीरगंज । वीरगंज महानगरभित्रका संस्थागत विद्यालेको स्तरीकरण एवम् शूल्क निर्धारणलाई मेयर राजेशमान सिंहले ठूलो उपलब्धी मानेका छन् । महानगरभित्रका संस्थागत विद्यालयको स्तरीकरण र शूल्क निर्धारणले शिक्षामा आमुल परिवर्तन ल्याउनेमा पनि मेयर सिंह विश्वस्त छन् । प्याब्सन पर्सा जिल्ला समिति र महानगर समितिको साधारण सभालाई सम्बोधन गर्दै मेयर सिंहले महानगरले शिक्षालाई विशेष प्राथमिकता दिएको बताए ।
निजी विद्यालयको वर्गीकरण र शूल्क निर्धारणले शिक्षामा रुपान्तरण हुने बताउँदै उनले केही कमी कमजोरी र असन्तुष्टी भएमा विस्तारै सच्याउँदै जान सकिने बताए । प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान र महानगर समितिका अध्यक्ष आलोक चौरसियाको सयुँक्त सभापतित्वमा सम्पन्न साधारण सभाका क्रममा मेयर सिंहले भने, “निजी विद्यालयको वर्गीकरण गर्नु एउटा ठूलो उपलब्धी हो । यसमा केही त्रुटी पनि होलान्, उचित असन्तुष्टीलाई समाधान गर्दै र त्रुटीहरुलई सच्याउँदै एकअर्कासँग हातेमालो गरेर अघि बढ्न सकियो भने वीरगञ्जको शैक्षिक क्षेत्रले ठूलो फड्को मार्नेमा म ढुक्क छु ।
शिक्षालाई राजनीतिकरण गर्ने दुष्प्रयास भइरहेकोमा आक्रोश पोख्दै मेयर सिंहले राजनीतिक दलमा आएर खुला रुपमा राजनीति गर्न पनि आग्रह गरेका छन् । शिक्षालाई राजनीतिबाट टाढा राखेर सुधार गर्न चाहेको हुँदा त्यसमा साथ दिन उनको अनुरोध छ । विद्यालयमा शूल्क बढाउने प्रतिस्पर्धा नगरी शैक्षिक गुणस्तर वृद्धि गर्ने प्रतिस्पर्धा गर्न सुझाव दिँदै उनले महानगरका शैक्षिक योजनाहरुमा प्याब्सनले पनि साथ, सहयोग र सुझाव दिनुपर्ने बताए ।