वीरगंज । मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । आयोगको मसिंर २० गते बसेको बैठकले मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जानकारी दिए ।
मधेशी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन् । थारु र मुस्लिम समुदायका विभिन्न संघ–संगठनहरूले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफूहरूलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तका अनुसार सो उजुरीमाथि आयोगले निर्णय लिँदै थारु र मुस्लिमलाई मधेशीबाट हटाउने निर्णय गरिएको हो ।
मधेशी आयोगले २०७८÷७९ को वार्षिक प्रतिवेदनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिमसहित १४९ जातिलाई मधेशीको रूपमा सिफारिस गरेको थियो ।