वीरगंज । गर्भवतीलाई प्रसूतिका लागि अस्पताल ल्याउँदै गरेको एम्बुलेन्स रोकेर बिहीबार राति मोरङको कटहरी गाउँपालिका–२ को नहरनजिक चालकमाथि आक्रमण गरिएको छ। प्रसव पीडाले छटपटाइरहेकी गर्भवतीलाई बोकेको को १ च ४०७९ नम्बरको एम्बुलेन्स रोकेर चालक विराटनगर महानगरपालिका–७ का ३७ वर्षीय चन्दन मुखियामाथि राति ८:३० बजेतिर आक्रमण गरिएको हो। सामुदायिक समाज उत्थान केन्द्रको उक्त एम्बुलेन्समा मोरङको जहदा गाउँपालिका–४ बाट गर्भवतीलाई राखेर प्रसूतिका लागि विराटनगरको कोसी अस्पतालतर्फ ल्याउँदै गर्दा घटना भएको कोसी एम्बुलेन्स चालक संघले जनाएको छ। आक्रमणबाट एम्बुलेन्स चालक मुखियाको आँखालगयात शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। सामान्य अवस्थाका उनको कोसी अस्पतालमै उपचार गरिएको छ। एम्बुलेन्समा समेत तोडफोड गरिएको छ। तोडफोडबाट सिसा फुटेको र एम्बुलेन्समा सामान्य क्षति पुगेको संघले जनाएको छ। चालक मुखियाका अनुसार मोटरसाइकसहित १०/१२ जनाको समूहमा रहेका युवाले सुरुमा हामी चेकजाँच गर्छौँ भनेर सडकमा एम्बुलेन्स रोके। सिकिस्त अवस्थाकी गर्भवतीलाई अस्पताल पुर्याउन ढिला भइसक्यो भन्नासाथ मदिराको नशामा रहेका युवाहरुले आफूमाथि आक्रमण सुरु गरेको र एम्बुलेन्ससमेत तोडफोड गरिदिएको उनले बताए।
‘समूहमा रहेकामध्ये सुरुमा १ जना युवाले हात छाडे। त्यसपछि अरुले पनि आक्रमण गर्दै एम्बुलेन्स तोडफोड गर्न थाले। केही युवाले छुट्याएजस्तो पनि गरे,’ चालक मुखियाले भने, ‘ममाथि बारम्बार लात्ता र मुक्का प्रहार भयो। आत्तिएर डराउँदै बिरामीसहित एम्बुलेन्स लिएर त्यहाँबाट भागें। असुरक्षित भएको महसुस गरेर वडा प्रहरी कार्यालय ‘ख’ हाटखोलाको शरणमा पुगें।’तत्काल परिचालित प्रहरी टोलीले खोजी गर्दा आक्रमणकारीहरु घटनास्थलबाट फरार भइसकेका थिए। आपतकालीन अवस्थामा बिरामी बोकेर आइरहेको एम्बुलेन्स बिना कारण रोकेर आक्रमण गरिएको भन्दै दोषीमाथि कारबाहीको माग राखेर चालक मुखियाले शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन्। कोसी एम्बुलेन्स चालक संघले पनि आक्रमणकारीमाथि कडा कारबाही हुनुपर्ने माग गरेको छ। संघका अध्यक्ष अशोक यादवले बिरामीलाई अस्पताल लैजाँदै गरेको एम्बुलेन्सका चालकमाथि आक्रमण हुनु निन्दनीय भएको बताए। ‘परिवारको समेत ख्याल गर्न नभ्याइकन हामी बिरामीको सेवामा अहोरात्र खटिएका हुन्छौँ। बिरामीको सेवामा खटिने एम्बुलेन्स चालकले अनाहाकमा कुटाइ खानु परेको छ। आक्रमणको सिकार हुनु परेको छ,’ उनले भने, ‘चालक नै असुरक्षित भएपछि हामीले अबका दिनमा कसरी एम्बुलेन्स चलाउनु ? दोषीमाथि कानुन अनुसार कारबाही हुनुपर्छ। हैन भने, एम्बुलेन्स सेवा बन्द गरेर आन्दोलनमा उत्रन्छौँ।’
समयमै उपचारका लागि पुर्याएर बिरामीलाई बचाउन भूमिका खेल्ने एम्बुलेन्स चालक नै असुरक्षित हुने अवस्था आउनु दःखद् भएको अध्यक्ष यादवले बताए। उनले आगामी दिनमा एम्बुलेन्स चालकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र चालकमाथिको आक्रमण बन्द गरिनुपर्ने माग संघको रहेको जानकारी पनि दिए। ‘एम्बुलेन्स चालकले दुव्र्यवहार र आक्रमण भोग्दै जाने हो भने सेवालाई निरन्तरता दिन हामी असमर्थ हुन्छौँ,’ उनले भने। यसैबीच घटनामा संलग्नमध्ये १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न भएको आशंकामा कटहरी–३ का २७ वर्षीय अजय कामतलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। ‘एम्बुलेन्स चालकमाथि आक्रमण भएको घटनामा १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘विस्तृत अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ।’ कार्कीका अनुसार सडकमा रहेका युवाहरुलाई एम्बुलेन्सले ठक्कर दिन खोजेको भन्दै सुरुमा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘तीव्र गतिमा रहेको एम्बुलेन्सले ठक्कर दिन खोजेको भन्दै बाटोमा बसिरहेका युवाले चालकसँग विवाद गरेछन्,’ उनले भने, ‘त्यसपछि घटना भएको पाइयो।’