चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं.३ फिल्सिङमा भएको दुर्घटनामा परेर थप दुई जना घाइते भएका छन् । घाइते हुने एक जना विदेशी हुन् भने अर्का एक जना नेपाली नागरिक हुन् ।
मृत्यु हुनेमा जर्मनका नागरीक ६० वर्षीय मिचेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । नारायणगढबाट काठमाडौं जाँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र धादिङ्बाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नम्बरको जिप आपसमा ठक्कर खाएको हो । ठक्कर खाएका दुबै सवारी साधन सडकबाट ५० मिटर तल खसेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक महिला र पिकअपमा सवार धादिङको गल्छी गाउँपालिका ५ बस्ने ७३ वर्षिय बीरवहादुर तामाङ् घाइते भएका छन् । घाइते दुबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक गोरखाका २१ वर्षीय साजन भुजेल र सहचालक प्रहरीको नियन्त्रणमा लिएको छ ।