वीरगंज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ पछि एमालेको सरकार बने वृद्धभत्ता पाँच हजार पुर्याउने बताएका छन्। काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा नेता पोखरेलले यस्तो बताएका हुन्। उनले भने,’ अन्य दलका कयौं विरोध र अवरोधलाई छल्दै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले एक सय रूपैयाँ भत्ता दिन सुरू गरेका थियौँ । तर, कांग्रेसलगायत पार्टीले यसरी भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै घोर विरोध गरेका थिए । तर, ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्यलाई अनेक विरोध सहेर पनि स्थापित गरिएको छ । ज्येष्ठ नागरिकहरू आज समाजमा सम्मान र इज्जतका साथ बाँचिरहनुभएको छ ।’
केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रूपैयाँ पुर् याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ । ज्येष्ठ नागरिकलाई बोझको दृष्टिले हेर्ने गरेकोमा एमालेले उनीहरूलाई सम्मान दिनुपर्छ भनेर समाजमा चेतना फैलाउने काम गरेको पनि पोखरेलले बताए ।
आगामी मंसिर ४ को निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा पनि ज्येष्ठ नागरिकको हक हितका लागि धेरै एजेण्डा समेटिएकाले ज्येष्ठ नागरिकको हितका लागि पनि एमालेले आगामी निर्वाचन जित्नुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए। ज्येष्ठ नागरिकहरूले पोखरेलसँग आफूहरूलाई एउटा भवन आवश्यक रहेको तथा भवनमा भजनकीर्तन र जमघट गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । नेकपा एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकका समस्या समाधान गर्दै मागबमोजिम भवन निर्माण गरिने प्रतिबद्धता पोखरेलले जनाए।