वीरगंज । नेपाल विद्युत् प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७, सूर्यपुरास्थित १५ मेगावाटजडित क्षमताको गण्डक जलविद्युत् केन्द्रको पुनःस्थापना र आधुनिकीकरण गर्ने भएको छ । विद्युत्गृहका टर्बाइन, ब्रेकर, गभर्नरजस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरू पुरानो र जीर्ण बनेर चल्न नसक्ने अवस्थामा पुगेपछि त्यसको स्थानमा नयाँ जडान गरी केन्द्रलाई पुनःस्थापना र आधुनिकीकरण गर्न लागिएको हो । विद्युत् केन्द्र परिसरमा रहेका अधिकांश भवन र संरचना समेत जीर्ण बनेका छन् ।
नेपाल र भारत सरकारबीचको गण्डक सिँचाइ तथा जलविद्युत् आयोजना सम्झौताबमोजिम निर्माण गरिएको जलविद्युत् केन्द्रबाट सन् १९७९ को अप्रिलबाट विद्युत् उत्पादन सुरु भएको थियो । भारत सरकारबाट १९८१ अगस्ट ३१ मा गण्डक सम्झौताबमोजिम नेपाललाई जलविद्युत्गृह हस्तान्तरण गरिएको थियो । एनईए इन्जिनियरिङ कम्पनीले गण्डक जलविद्युत्गृहको पुनःस्थापना र आधुनिकीकरणको विस्तृत डिजाइन र लागत अनुमान तयार गरी प्राधिकरणमा पेस गरिसकेको छ । जलविद्युत् केन्द्रको पुनःस्थापना र आधुनिकीकरणका लागि करिब ४२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विद्युत्गृहमा पाँच/पाँच मेगावाटका तीन युनिट रहेका छन् । त्यसमध्ये दुई चल्ने अवस्थामा छन् । एउटा युनिट बिग्रिएर लामो समयदेखि चल्न सकेको छैन । चालु अवस्थामा रहेका युनिटका उपकरणहरू पुरानो भएकाले फेर्नुपर्ने अवस्थामा छन् ।
दुई देशबीचको गण्डक सम्झौताबमोजिम गण्डक बाँध सञ्चालनको सम्पूर्ण अधिकार भारतमा निहित रहेकाले भारतले नहरमा पानी छोडेका आधारमा विद्युत्गृह सञ्चालन हुन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले स्थलगत अनुगमन भ्रमण गरी जलविद्युत् केन्द्रको अवस्थाका बारेमा जानकारी लिएको छ । कार्यकारी निर्देशक घिसिङले ४१/४२ वर्षअघि निर्माण भएको विद्युत् केन्द्रका उपकरणहरू पुरानो भई चल्न नसक्ने अवस्थामा पुगेको र केन्द्र आफैँ पनि जीर्ण बनेकाले पुनःस्थापना तथा आधुनिकीकरणका लागि छिट्टै टेन्डर गर्न लागिएको बताए ।