वीरगंज । मोटरसाइकलको ‘लेग गार्ड’मा तरबार राखेर टिकटकमा भिडिओ हालेको आरोपमा दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। प्रहरीले यस घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
काठमाडौं नागार्जुन नगरपालिका-२ सानोभर्याङ बस्ने २३ वर्षीय दिपेश महर्जन र दोलखा घर भई स्वयम्भू बस्ने २२ वर्षीय श्रवण लामालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूमाथि प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा अनुसन्धान गरिरहेको बताएको छ। उनीहरूले बा ५१ प ४६३९ नम्बरको मोटरसाइकलको लेग गार्डमा तरबार राखेका थिए। त्यहाँबाट तरबार झिकेको भिडिओ खिचेर टिकटकमा समेत अपलोड गरेका थिए।
त्यसरी अशान्ति मच्चाएको भन्ने सूचना पाएपछि परिसरले मातहत प्रहरी वृत्त तथा प्रभागमा सूचना प्रवाह गरेको थियो। प्रहरी वृत्त स्वयम्भू र बालाजुबाट खटिएको प्रहरीले आइतबार उक्त मोटरसाइकल फेला पारेको थियो। बालाजुमा मोटरसाइकल र लेग गार्डभित्र राखिएको तरबार पनि बरामद प्रहरीले गरेको थियो। प्रहरीले उनीहरू दुबै जनालाई बालाजुबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएर थप अनुसन्धान अघि बढाएको परिसरले जनाएको छ।