वीरगंज । वीरगञ्ज महानगरपालिकाले माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरिएकाे छ । आजबाट महानगरपालिकाको टोलीले पोखरीले चर्चेको जमिनमा बनाइएका अबैध संरचना हटाउन थालेको हो ।नगर प्रहरी र नक्सा शाखाका प्रमुख सहित पुगेको टोलीले पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएको अबैध संरचना भत्काएर हटाउन सुरु गरेको हो ।
सुरुमा निर्माण गरिएका संरचनाको निस्सा पेश गर्न समय दिएको महानगरले आइतबार घरघरमै पुगेर संरचना हटाउन आग्रह गरेको थियो ।तर महानगरको आदेशलाई अटेर गर्दै हटाउन नमानेपछि आजबाट भने ती संरचना भत्काएर खाली गर्न सुरु गरिएको हो ।आज पहिलो दिन केही संरचना भत्काएर अन्यलाई चेतावनी दिइएको र उनीहरुले नहटाए डोजरै लगाएर हटाउन आफूहरु पछि नपर्ने महानगरका नक्सा शाखा प्रमुख रामसेवक महतो बताउँछन् ।महानगरपालिकाका मेयर राजेशमान सिंहले झण्डै ४ विगाहा क्षेत्रफलमा फैलिएको जग्गा खुम्चिएर १५ कट्ठामा सिमित भएको भन्दै पोखरीको सबै जग्गा फिर्ता ल्याउन अतिक्रमण गरेर बनेका संरचना हटाउन सुरु गरिएको जानकारी दिए ।
महानगरका अनुसार आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको थियो । तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि पोखरी खुम्चिएर १५ कट्ठामा मात्रै समेटिन पुगेको छ ।अहिले पोखरी रहेको स्थानमा यसअघिका मेयर विजय सरावगीले चिल्ड्रेन पार्क निर्माण गरेर अतिक्रमणलाई आधिकारीकता दिने काम गरेको स्थानीयको आरोप छ ।