वीरगंज । लकडाउन सुरुवातमा थोरै नेपालीले प्रयोग गर्ने टिकटक लकडाउनपछि प्रयोगकर्ता संख्या अत्यधिक बढेको छ। मानिसहरु फेसबुक र युट्युबभन्दा धेरै टिकटकमा झुम्मिन थालेका छन्। यसमा आउने १५ देखी ६० सेकेन्डसम्मका भिडियोहरु हेरेर घन्टौं बिताइदिन्छन्। टिकटक छोटो समयमै स–साना बालबालिका, युवायुवतीदेखि वृद्धसम्मको रोजाइमा पर्न सफल भएको छ। लकडाउनपछि विद्यालय बन्द भएर घरमै थुनिएका बालकालिका पनि टिकटकमा समय बिताइरहेका छन्। परिवारका अन्य सदस्यहरुले बालबालिकालाई टिकटकमा बढी प्रयोग गरेका छन्। बालबालिकालाई भिडियो खिच्न लगाउने, उनीहरुको आनीबानी र व्यवहारको दुरुपयोग गर्दै भिडियो खिचेर टिकटकमा राख्ने, आफूहरुसँगै भिडियोमा प्रयोग गर्ने जस्ता क्रियाकलाप देखिन्छन्। जसको कारण बालबालिका प्रत्यक्ष रुपमा टिकटकको सिकार बन्दै गएका छन्। उनीहरुमा मनोवैज्ञानिक, भावनात्मक र शारीरिक असर पर्ने खतरा देखिएको छ।
पहिले–पहिले सहपाठीसँग खेल्न रुचाउने बालबालिकाहरु अहिले टिकटक बनाउन कस्सिन्छन्। पछिल्लो समय टिकटकमा अश्लील क्रियाकलाप पनि हुने गरेको छ। जसले बालबालिकालाई ठुलो असर पर्ने देखिन्छ। बालबालिकाको हातमा पनि पुग्ने टिकटकमा यस्तो अश्लील संवादहरु र दृश्यलाई कसरी नियन्त्रण गर्ने भन्ने सोचनीय विषय बन्दै गएको छ। बालबालिकालाई टिकटकमा प्रयोग नगर्न मनोविदको सुझाव मनोविद् तथा मनो परामर्शदाताहरूले बालबालिकालाई विभिन्न किसिमका सामाजिक सञ्जालहरुमा प्रयोग नगर्न आग्रह गरेका छन्।
विद्यालयबाट झण्डै ५ महिनादेखि छुट्टिएका बालबालिकालाई दीर्घकालसम्म मनोवैज्ञानिक तथा भावनात्मक रुपमा असर पर्ने भएकोले टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालहरु लामो समयसम्म प्रयोग गर्न नदिन सुझाव दिएका हुन्। मनोविद् गोपाल बोहराले बालबालिकालाई टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालहको प्रयोगले पर्ने असरबारे यसरी वर्णन गरेका छन्- बालबालिकामा देखिने प्रमुख असरमा संवेगात्मक असर हो। यो असरले उनीहरुको भावनामा पर्छ। रुने, निरास हुने, स–सानो कुरामा पनि रिसाउने त्यस्तै उनीहरुको व्यवहारमा देखिने असरहरुमा झर्किने, झगडा गर्ने, जिद्दी गर्ने, पढ्न लेख्न नमान्ने जस्ता समस्या उत्पन्न हुन्छन्। उनीहरु शारीरिक समस्या पनि देखिन्छन् । सुतेर मोबाइल प्रयोग गर्दा शरीर बाङ्गिने, टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, हातखुट्टा झम्झमाउने जस्ता असरहरु देखा पर्छन्।
यसले गर्दा उनीहरुको सम्पुर्ण विकासमा असर परेको हुन्छन उनीहरुको सामाजिक विकासमा असर पर्छ। लकडाउन र कोरोना महा’मारीको कारण बालबालिकाले विद्यालय जान पाएका छैनन्, साथीभाइ र छिमेकीसँग पनि राम्रोसँग बोल्न पाएका छैनन्। उनीहरुले आफ्नो उमेर समूहकासँग खेल्न पाएका छैनन्। यसले गर्दा बालबालिकामा दीर्घकालीन रुपमा अध्ययन नगर्ने, खेलकुद नखेल्ने जस्ता समस्याहरु देखिन्छ। त्यसकारण उनीहरुमा सामाजिक सञ्जालको अत्याधिक प्रयोगले अन्य कुराहरुमा ध्यान दिन नसक्ने अवस्थामा पुग्छन्। यसलाई रोक्न अभिभावकले राम्रोसँग बुझाउने, बालबालिकाको उमेर अनुसार भावनात्मक सहयोग गर्ने, समस्या सही ढंगले सुनिदिने गर्नुपर्ने हुन्छ।
शीर्षक सँग सम्बन्धित भिडियो हेरौं ।