वीरगंज । बिहान बसले अटो रिक्सालाई ठक्कर दिंदा रौतहटको चन्द्रपुरमा तीन जनाको मृत्यु भएको छ ।
बिहीबार चन्द्रपुर नगरपालिका वडा नम्बर २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन् । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही वडा नम्बर २ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । दुर्घटना पश्चात बसका चालक चन्दन कुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका सन्तु जैसवारले बताए ।