वीरगंज । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यसदिन नेप्से ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स भने ०.२८ प्रतिशतले बढेको छ। कारोबारमा आएका १३ समूहमध्ये ७ को सूचक बढ्यो भने ६ को घट्यो।
यसदिन डेभलपमेन्ट बैंक, हाइड्रो पावर, फाइनान्स, नन लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो, माइक्रो फाइनान्स र म्युचुल फन्डको सूचक बढेको हो। मंगलबारको तुलनामा आज सेयर कारोबार घटेको छ। यसदिन २२२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँमा खरिदबिक्री भयो। मंगलबार २ अर्ब ७३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। बजार ओरालो लागेपनि आज पाँच कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
स्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको १० प्रतिशत, अपर हेवाखोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको ९.९९ प्रतिशत, सपोर्ट लघुवित्त वित्तीय र अपर सोलु हाइड्रो इलेक्ट्रिकको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको हो। कारोबार रकमका आधारमा रिदी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको १८ करोड बढि मूल्यको सेयर कारोबार भयो। यस्तै शिवम् सिमेन्टको ६ करोड ९० लाख बराबरको कारोबार गरी दोस्रो स्थानमा रह्यो।