वीरगंज । युक्रेनी प्रतिआक्रमणको अपेक्षाका बीचमा रुसी सेनाले युक्रेनको दोस्रो ठूलो पावरप्लान्ट कब्जामा लिएको छ । साथै, तीन दक्षिणी क्षेत्रमा सेनालाई पुनः तैनाथ गरेको युक्रेनी राष्ट्रपतिका सल्लाहकारलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
रुसी–समर्थित सैनिकले बुधबार युक्रेनमा सोभियत युगको कोइलाबाट चल्ने वुहलेहिरस्क पावरप्लान्टलाई कब्जामा लिएको जानकारी दिएका छन् । यो तीन हप्ताभन्दा बढीमा मस्कोको पहिलो महत्त्वपूर्ण लाभ भएको रोयटर्सको टिप्पणी छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले पूर्वी डोनेट्स्क क्षेत्रमा प्लान्ट कब्जा गरेको पुष्टि गरे । तर, यो रुसका लागि ‘सानो रणनीतिक फाइदा’ मात्र भएको उनको भनाइ छ । युक्रेनले युद्धको प्रारम्भिक दिनमा रुसको पकडमा परेको दक्षिणी सहर खेर्सनलाई पुनः कब्जा गर्न चाहेको स्पष्ट पारेको छ ।