वीरगंज । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा एक महिलाको दुईलाख रुपैयाँ लुटिएको घटनामा संलग्न रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गत सोमबार दिउँसो धनषाको सवैला नगरपालिका वडा नम्बर ४ पटेर्वा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने शर्मिला देवी यादवको साथबाट दुईलाख रुपैयाँ लुटेका धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र सोही ठाउँ बस्ने २१ वर्षीय दिपेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
वडा नम्बर १ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका उनिहरुले शर्मिलाको साथमा रहेको रकम लुटेर फरार भएका थिए । साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै प्रदेश–२–०२–००५–प ००८५ नम्बरको मोटरसाइकलमा सवार भई आएका जितेन्द्र र दिपेन्द्रले शर्मिलाले बोकको झोला हातबाट लिएर भागेको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिएका छन् ।