वीरगंज । मोरङको बेलबारी नगरपालिकाले विद्यार्थीलाई उच्च शिक्षामा सहुलियत दिएपछि स्थानीय क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । आर्थिक अभावका कारण धेरै विद्यार्थीले पठनपाठन नै पूरा नगरी बीचमै पढाइ छाड्ने गरेका बेला बेलबारी नगरपालिकाले उच्च शिक्षामा लगानी गरेको हो । मोरङको बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने नयाँ विद्यार्थीको भर्ना शुल्क तिरिदिएपछि बेलबारीमा विद्यार्थीको आकर्षण बढेको छ । गत शैक्षिक सत्रमा २७५ जना विद्यार्थीको भर्ना शुल्क तिरिदिएको छ ।
क्याम्पसमा शिक्षाशास्त्र, वाणिज्य व्यवस्थापन र मानविकी संकायको पठनपाठन हुने गरेको छ । नेपाली माध्यम र अंग्रेजी माध्यम गरेर पठनपाठन गराउने गरिएको छ । नेपाली माध्यममा पठनपाठन गर्नेले ६ हजार १०० र अंग्रेजी माध्यममा पठनपाठन गर्नेले ७ हजार १०० रुपैयाँ भर्ना शुल्कबापत बुझाउनुपर्नेछ ।
गरीब, असहाय तथा जेहेन्दार विद्यार्थीका लागि सहज भएको शिक्षा शाखाका प्रमुख तथा क्याम्पस प्रमुख भुपेन्द्रप्रसाद कोइरालाले बताए । गरीब तथा असहाय विद्यार्थीलाई निजी क्षेत्रमा रोजगारी समेत खोजेर पढ्ने वातावरण मिलाउने गरेको उनले बताए । ‘आर्थिक अभावले पठनपाठन गर्नबाट कोही पनि वञ्चित हुनु नपरोस् भनेर निजी विद्यालय, होटल तथा अन्य निजी क्षेत्रसँग समन्वय गरेर जागिर पनि लगाइरहेका छौं,’ उनले भने ‘पठनपाठनका लागि विद्यार्थीलाई सहज भएको छ ।’
२०६५ सालमा स्थापना भएको क्याम्पसको जग्गामा नगरपालिकाको सहयोगमा भवन बनेको छ ।