बिरगंज । चालू आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न फर्मलाई १ करोड ७७ लाख ८१ हजार रुपैयाँ जरिवाना गरेको छ । चालू वर्षको असार २० गतेसम्ममा गरिएको अनुगमनका क्रममा उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई उक्त मूल्य बराबरको जरिवाना गरिएको हो ।
विभागका अनुसार यस अवधिमा बजार अनुगमनका क्रममा ३ हजार ३४ वटा व्यापारिक फर्ममा अनुगमन गरिएको थियो । त्यसक्रममा विभिन्न बाहानामा उपभोक्ता ठग्दै आएका १ हजार ३०१ वटा फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ ।यस्तै, २०७९ साल असार १ गतेदेखि २० गतेसम्ममा २७८ वटा फर्मको अनुगमन गरिएको छ ।
जसमध्ये ८७ वटा फर्मले विभिन्न बहानामा उपभोक्तालाई ठग्दै आएको पाइएको छ । उनीहरूले उपभोक्तासँग बजारभन्दा बढी मूल्य लिने तथा गुणस्तरहीन वस्तु बिक्री वितरण गर्दै आइरहेका थिए । ती फर्मलाई २५ लाख ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।यसका साथै, चालू आर्थिक वर्षको अहिलेसम्मको अवधिमा म्याद नाघेका वस्तु समेत नष्ट गरिएको विभागका प्रवक्ता हरि पंगेनीले जानकारी दिए ।
उनका अनुसार यस अवधिसम्ममा ५४ लाख ६० हजार ८५२ मूल्य बराबरका माल वस्तु नष्ट गरिएको छ ।