वीरगञ्ज । मानवता र शान्तिका लागि योग भन्ने नाराका साथ भारतीय महावाणिज्य दुतावास वीरगञ्जले अन्तर्राष्ट्रिय योग महोत्सवको आयोजना गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रंगशालामा आजादीको अमृत महोत्वसका अवसरमा योग महोत्सवको आयोजना गरिएको हो ।
भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितेश कुमार, वाणिज्यदुत शशी भुषण कुमार र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले संयुक्त रुपमा योग महोत्सवको उद्धघाटन गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले स्वास्थ्यका लागि र शान्तिका लागि नियमित योगा गर्नुपर्नेमा जोड दिएका थिए । योग दिवसले योग गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेपनि नियमित रुपमा योगाा गरे आफैलाई फाइदा हुने वक्ताहरुको भनाई थियो ।
सोही अवसरमा भारतीय महावाणिज्य दुतावास विरगञ्जले विभिन्न समयमा आयोजना गर्ने विभिन्न किसिमका प्रतियोगिताहरुमा उत्कृष्ट भएका साउथ जोन मा.वी, दिल्ली पब्लीक स्कुल, ज्ञान्दा मा.वी लगायत दर्जनौ स्कुलका उत्कृष्ट छात्रछात्राहरुलाई कदर पत्रसमेत प्रदा नगरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष एवम् उद्योगी अशोक वैद्य, नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा. निरज कुमार सिंह, महिला नेतृ रम्भा मिश्रा लगायतको उपस्थिती रहेको थियो ।