वीरगंज । चार वर्षअघि बेल्जियन सीमानासँग जोडिएको फ्रान्सको एउटा गाउँबाट गिरफतार गरिएका डिनो स्काला नामक एक पुरुषविरुद्ध ३० वर्षसम्म श्रृङ्खलावद्ध बलात्कार र यौन उत्पीडन कार्यमा संलग्न रहेको अभियोगमा मुद्दा चलाइने भएको छ । अहिले ६१ वर्ष उमेरका ती पूर्व वार्डेनले फ्रान्स र बेल्जियममा गरी आफूले ४० जना महिला तथा बालिकामाथि यौन आक्रमण गरेको स्वीकार गरिसकेका छन् ।
तर उनले आफूमाथि लगाइएका ५६ वटा अभियोगमध्ये केही अभियोग भने अस्वीकार गरेका छन् । फ्रेन्च सञ्चार माध्यमले उनलाई ‘साम्ब्रेका बलात्कारी’को उपनाम दिएका छन् । ‘साम्ब्रे’ नदी बग्न स्थानहरूमा उनले सम्पूर्ण अपराध गरेको बताइएको छ । कुनै समय फुटबल प्रशिक्षकसमेत रहेका स्काला अन्तत: बेल्जियन सीमानामा रहेको एक्वेलिन्नेस सहरमा एकजना १७ वर्षिया किशोरीमाथि आक्रमण गर्ने क्रममा सन् २०१८ को फ्रेब्रुअरीमा प्रहरीको फन्दामा परेका थिए । त्यतिबेला उनको चँगुलबाट फुत्कन सफल हुनासाथ ती किशोरीले मद्दतका लागि हार गुहार गरेकी थिइन् ।
त्यसपछि सीसीटीभीको सहयोगमा उनको पहिचान भएको थियो । घटना घटेको तीन सातापछि पोन्ट–सुर साम्ब्रेस्थित अभियुक्तको घरबाट पन्जा, डोरी र एक छुरासहितको कार फेला पारिएको थियो । उनले सन् १९८८ देखि सुरु गरेको यस घृणित अपराधमा १३ देखि ४८ वर्षसम्मका महिलाहरू शिकार भएका थिए । पीडित महिलाहरूले मुद्दाको दौरान आफूहरूको पनि सुनवाइ हुने आशा गरेको उनीहरूका वकिलहरूले बताएका छन् ।