वीरगंज । मलेसियामा जारी आइसिसी यु-१९ महिला टी-२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर मात्र ६१ रनमात्र बनाउन सक्यो । कसिलो बलिङ गरेको नेपालसामु मलेसियाका लागि एल्सा हन्टेरले सर्वाधिका २८ रन जोड्नबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । यसबाहेक एैनुर रिधवानले आठ, नुरहसिमा तजुद्दिनले सात र नुर अबेदुल समदले पाँच रनको पारी खेले ।
बलिङतर्फ नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिँदा मनिषाकुमारी उपाध्यायको नाममा एक विकेट रह्यो । यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले पूरा २० ओभर खेल्दै सात विकेट गुमाएर ८६ रनको योगफल तयार गरेको थियो । नेपालकी अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाउँदा आश्मा पुलामीले २६ रन बनाउनबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । मलेसियाकी नुर अबेदुल समदले दुई र एल्सा हन्टेरले एक विकेट लिए ।
जित निकाले पनि नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघि पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दा नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग भने १० विकेटले पराजित भएको थियो । यस्तै, तेस्रो खेलमा भुटानविरुद्ध चार विकेटको जित निकालेको नेपाल चौथो खेलमा थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो । मलेसियाको आयोजना भएको प्रतियोगितामा नेपाल, युएई, थाइल्याण्ड, भुटान र कतारले सहभागिता जनाएका थिए । शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने यु-१९ को विश्वकप खेल्नेछ । छनोटमा युएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। थाइल्याण्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । थाइल्याण्ड र युएईबीचको विजयी टोलीले विश्वकपमा स्थान बनाउने छ ।