दोहा । साउदी अरेबियाले रोजगारदाता कम्पनीहरुका लागि कडा नियम ल्याएको छ। साउदीले सबै रोजगारदाताहरूका कर्मचारीहरूलाई अरूको लागि वा कामदारहरूको आफ्नै व्यक्तिगत फाइदाको लागि काम गर्न अनुमति दिए कडा कारबाही गर्ने चेतावनी दिएको छ । साउदी पब्लिक सेक्युरिटीका अनुसार नियम उलङ्घन गरेको पाइएमा अधिकतम १ लाख साउदी रियाल जरिवाना र ६ महिनासम्मको जेल सजाय हुनेछ ।
साउदीको श्रम कानुन नम्बर २१९ को धारा ३९ अन्तर्गत, एक रोजगारदाताले आफ्नो कामदारलाई अरूको लागि काम गर्न दिनु हुँदैन र कामदारले अन्य रोजगारदाताहरूको लागि काम गर्न नपाउने नियम रहेको छ । त्यसैगरी रोजगारदाताले अन्य रोजगारदाताका कामदारहरूलाई काममा लगाउनु हुँदैन र कम्पनीहरुले पनि आफ्नो कर्मचारीले आफ्नो फाइदाको लागि काम गरिरहेको छैन भनी सुनिश्चित गर्नुपर्छ ।
पब्लिक सेक्युरिटीले मक्का र रियाद क्षेत्रहरूमा ९११ र राज्यका अन्य क्षेत्रहरूमा ९९९ मा निवास, श्रम र सीमा सुरक्षा नियमहरूको कुनै पनि उल्लङ्घनका बारेमा रिपोर्ट गर्न जनतालाई आह्वान गरेको छ । पछिल्लो समय साउदीमा कतिपय रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारलाई अन्यत्र काममा लगाउने प्रवृति बढेकाले साउदीले नयाँ नियम ल्याएको बुझिएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ४ लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।