पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहामा स्थानीय मंगल बहादुर ब्लोनको घरमा गोली प्रहार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा औराहाकै २२ वर्षिय सल्टु महत्तो रहेका छन् । महत्तोलाइ प्रहरीले शुक्रबार बिहान ८ बजे उनकै घरबाट बन्दुक सहित पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।
महत्तोको घरबाट एक नाले १२ बोरको बन्दुक पनि बरामद गरिएको खनालले बताए । पक्राउ परेका महत्तोलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गर्नुको यकिन कारण खुल्न नसकेपनि चुनावमा स्थानीयवासीलाइ त्रसित पार्न र व्याक्तिगत रिसबी फेर्न महत्तोले गोली चलाएको हुन सक्ने प्रहरीको अनुमान छ ।
सखुवा प्रसौनी गाँउपालिका १ औराहा स्थित जंगल छेउ रहेको स्थानीय मंगल बहादुर ब्लोनको घर लक्षित गरि बिहीबार राति ९ बजे तिर महत्तोले १२ बोरको बन्दुकबाट ३ राउण्ड गोली प्रहार गरेका थिए । महतोले प्रहार गरेको गोलीले ब्लोनको घरको बाँसको टाटी छेडेर घर भित्र रहेको चामलको बोरामा कटुवा पेस्तोलको गोलीको टुक्रा भेटिएको थियो ।