बीरगंज । भारतको लाहौर केन्द्रिय कारागारमा २३ मार्च १९३१ को सुरुवात अन्य दिनजस्तै थियो। फरक कुरा, त्यो दिन बिहानै ठूलो आँधी आएको थियो।
तर, जेलका कैदीहरूलाई साँझ ४ बजे नै वार्डेन चरत सिंहले आ–आफ्नो कोठामा जान भन्दा उनीहरूलाई अच्चम लागेको थियो। उनले कारण बताएका थिएनन्। उनको मुखबाट केबल ‘माथिको आदेश हो’ मात्र निस्किएको थियो।
बरकत नाम गरेका जेलका नाईले हरेक कोठामा सुस्तरी बताउँदै हिँडे– आज राति भगत सिंह, राजगुरु र सुखदेवलाई फाँसी दिँइदै छ।
त्यो पलको मौनताले उनीहरूलाई चकित तुल्यायो। कैदीहरूले बरकतसँग फाँसीपछि भगत सिंहको कुनै पनि सामान, चाहे त्यो कलम, काइँयो वा घडी होस्, उनीहरूलाई ल्याएर दिन अनुरोध गरे। ता कि, उनीहरूले आफ्ना सन्तानलाई आफू कुनै समय भगत सिंहसँगै जेलमा बसेको सुनाउन सकुन्।
त्यसपछि बरकत भगत सिंहको कोठामा गए र त्यहाँबाट उनको कलम र काइँयो लिएर आए। सबै कैदीहरूमा कसले ती सामानमाथि अधिकार जमाउने भन्ने होडबाजी चल्यो। अन्तिममा गोलाप्रथामार्फत सामान बाँडियो।
त्यसपछि सबै कैदी चुप भए। उनीहरूको नजर कोठा अघिल्तिरको बाटोमा थियो। भगत सिंह र उनका साथीहरूलाई फाँसीमा झुण्ड्याउन त्यही बाटोबाट लगिँदै थियो।
त्यसअघि एक पटक जब भगत सिंहलाई त्यही बाटोबाट लगिँदैथियो, तब पञ्जाब कांग्रेसका नेता भीमसेन सच्चरले चर्को आवाजमा उनीसँग जोधेका थिए, ‘तपाईं र तपाईंका साथीहरूले लाहौर षड्यन्त्रको मुद्दामा किन आफ्नो बचाव गर्नु भएन?’
भगत सिंहको जवाफ थियो, ‘क्रान्तिकारीहरूले मर्नै पर्छ। किनकि उनीहरू मरेपछि उनीहरूको अभियान थप बलियो हुन्छ, अदालतमा अपिल गरेर हुँदैन।’
जेलका वार्डेन चरत सिंहसमेत भगत सिंहका प्रशंसक थिए। आफ्नो तर्फबाट जे जति हुन सक्थ्यो भगत सिंहका निम्ति उनी गरिदिन्थे। उनकै कारण लाहौरको द्वारकादास पुस्तकालयबाट भगत सिंहका निम्ति किताबहरू निस्किएर जेलभित्रसम्म आइपुग्थे।
भगत सिंहलाई किताब पढ्न निकै शोख थियो। एक पटक उनले आफ्नो स्कुले साथी जयदेव कपुरलाई चिठ्ठीमा आफ्नो लागि कार्ल लिब्नेख्तको ‘मिलिट्रिजम’, लेनिनको ‘लेफ्ट विङ कम्युनिजम’ र आप्टन सिन्क्लेयरको उपन्यास ‘द स्पाई’ कुलवीरमार्फत पठाउन भनेका थिए।
भगत सिंहलाई जेलको कठिन जिन्दगीको बानी परिसकेको थियो। उनको कोठाको भुईंमा प्लास्टर गरिएको थिएन। बरु घाँस उम्रिएको थियो। उनको ५ फुट १० इञ्चको शरीर जसोतसो अट्ने सानो ठाउँ थियो।
भगत सिंहलाई फाँसी दिनुभन्दा दुई घण्टा पहिले उनका वकिल प्राणनाथ मेहता उनलाई भेट्न पुगेका थिए। मेहताले पछि लेखेअनुसार, ‘भगत सिंह आफ्नो सानो कोठामा पिंजडामा बन्द सिंहले जस्तै चक्कर लगाइरहेका थिए।’
भगत सिंहले मुस्कुराउँदै मेहताको स्वागत गरेका थिए र आफ्नो लागि पुस्तक ‘रिभोलुसनरी लेनिन’ ल्याए नल्याएको सोधेका थिए। जब मेहताले उनलाई पुस्तक थमाइदिए, भगत सिंहले त्यही समय पुस्तक पढ्न थाले। यस्तो लाग्थ्यो, उनीसँग अब धेरै समय छैन।
मेहताले उनलाई सोधेका थिए, ‘के तपाईं देशको निम्ति केही सन्देश दिन चाहनुहुन्छ?’
भगत सिंहले पुस्तकबाट आफ्नो नजर नहटाइ भने, ‘केबल दुई सन्देश… साम्राज्यवाद मुर्दावाद र इन्कलाब जिन्दावाद।’
त्यसपछि भगत सिंहले आफ्नो मुद्दामा गहिरो रुचि राखेका पण्डित नेहरू (जवाहरलाल नेहरू) र सुभाषभन्द्र बोसलाई आफ्नो धन्यवाद सुनाइदिन भनेका थिए।
भगत सिंहसँगको भेटपछि मेहता राजगुरुसँग भेट्न उनको कोठामा पुगे। राजगुरुका अन्तिम शब्द थिए, ‘हाम्रो भेट छिट्टै हुनेछ।’
सुखदेवले भने मेहतालाई आफ्नो मृत्युपछि जेलरसँग उनले केही महिनाअघि आफूलाई दिएको क्यारामबोर्ड फिर्ता लैजान याद गराएका थिए।
मेहता जेलबाट निस्किएको केही समयपछि जेलका अधिकारीहरूले तीनै जना क्रान्तिकारीहरूलाई निर्धारित समयभन्दा १२ घण्टाअघि नै फाँसी दिइने बताएका थिए। भोलिपल्ट बिहान ६ बजेको सट्टा सोही साँझ ७ बजे फाँसीमा लड्काइने भएको थियो।
भगत सिंहले मेहताले दिएको पुस्तकका केही पन्ना मात्रै पढ्न भ्याएका थिए। उनको मुखबाट निस्कियो, ‘के तपार्इं मलाई यो पुस्तकको एक अध्याय पनि पढ्न दिनुहुन्न?’
भगत सिंहले जेलका मुस्लिम सफाइ कर्मचारी बेबेसँग फाँसीको अघिल्लो दिनको साँझ आफ्नो घरबाट खाना ल्याइदिन अनुरोध गरेका थिए। तर, बेबेले भगत सिंहको यो इच्छा पूरा गर्न सकेनन्। किनकि भगत सिंहलाई १२ घण्टा पहिले नै फाँसी दिने फैसला लिइएको थियो। बेबे जेलको गेटबाट भित्र छिर्न पाएनन्।
केही बेरपछि तीनै जना क्रान्तिकारीहरूलाई फाँसीको तयारीका लागि कोठाबाट निकालियो। भगत सिंह, राजगुरु र सुखदेवले आफ्नो हात जोडेर उनीहरूको प्रिय ‘स्वतन्त्रताको गीत’ गाउन थाले।
कभी वो दिन भी आएगा
कि जब आजाद हम होंगें
ये अपनी ही जमीं होगी
ये अपना आसमाँ होगा।
(यसको अर्थ हुन्छ– कुनै बेला त्यो दिन आउनेछ, जब हामी स्वतन्त्र हुनेछौं, यो आफ्नै जमिन हुनेछ, यो आफ्नै आकाश हुनेछ।)
त्यसपछि तीनै जनाको एक–एक गरी तौल नापियो। सबैको तौल बढेको थियो। उनीहरू सबैलाई अन्तिम पटक नुहाउन भनियो। त्यसपछि कालो कपडा पहिराइयो। तर, उनीहरूको अनुहारलाई खुल्ला नै राखियो।
चरत सिंहले भगत सिंहको कानमा सुस्तरी वाहेगुरु (ईश्वर)लाई याद गर्न भने।
भगत सिंहले भने, ‘पूरै जीवनभर मैले ईश्वरलाई याद गरिन। वास्तवमा मैले कैयौं पटक गरिबहरूको पीडाका निम्ति ईश्वरलाई गाली गरेको छु। यदि, मैले अहिले ईश्वरसँग माफी मागेँ भने उनले मजस्तो डरपोक कोही नभएको ठान्नेछन्। अनि भन्नेछन्– यसको अन्त्य नजिक आइरहेको छ। त्यसैले माफी माग्न आएको छ।’
जब जेलको घडीमा ६ बज्यो, कैदीले टाढाबाट आइरहेका केही पदचाप सुने। त्योसँगै भारी बुट जमिनमा टेक्दा आउने आवाज पनि आइरहेको थियो। साथै, एउटा गीत पनि दबिएको स्वरमा सुनिरहेको थियो, ‘सरफरोशी की तमन्ना अब हमारे दिल में है…’
अचानक चर्को स्वरमा ‘इन्कलाब जिन्दबाद’ र ‘हिन्दुस्तान स्वतन्त्र होस्’ भन्ने नाराहरू सुनिन थाल्यो। फाँसी दिने तख्ता पुरानो थियो। तर, फाँसी दिनेहरू निकै तन्दरुस्त थिए। फाँसी दिनका लागि मसीह जल्लादलाई लाहौर नजिकैको शाहदराबाट बोलाइएको थियो।
भगत सिंह ती तीन जनाको बीचमा उभिएका थिए। उनी फाँसीको तख्ताबाट ‘इन्कलाब जिन्दावाद’को नारा लगाउने आफ्नी आमालाई दिएको वचन पूरा गर्न चाहन्थे।
लाहौर जिल्ला कांग्रेसका सचिव पिन्डी दास सोन्धीको घर लाहौर केन्द्रीय कारागारसँग जोडिएको थियो। भगत सिंहले यति चर्को आवाजमा ‘इन्कलाब जिन्दावाद’को नारा लगाएकी उनको आवाज सोन्धीको घरसम्म सुनियो।
उनको आवाज सुन्नसाथ जेलका अन्य कैदीहरूले पनि नारा लगाउन थाले। तीन युवा क्रान्तिकारीको घाँटीमा फाँसीको डोरी लगाइएको थियो। उनीहरूको हात र खुट्टा बाँधिएको थियो।
तब जल्लादले सोध्यो, ‘सबैभन्दा पहिला को जाने?’
सुखदेवले सबैभन्दा पहिले फाँसीमा लाग्ने बताए।
जल्लादले एक एक गरेर डोरी ताने र उनीहरूको खुट्टामुनि राखिएको तख्तालाई ‘लात हानेर’ हटाइदिए। धेरै बेरसम्म उनीहरूको शव फाँसीमा झुण्डिरह्यो।
अन्त्यमा उनीहरूलाई तल उतारियो। त्यहाँ रहेका डाक्टरहरू लेफ्टिनेन्ट कर्नेल जेजे नेल्सन र लेफ्टिनेन्ट कर्नेल एनएस सोधीले उनीहरूलाई मृत घोषित गरे।
एक जेल अधिकारीलाई यो फाँसीको घटनाले यति असर भयो कि, उनलाई मृतकको पहिचान गर्नभन्दा त्यसो गर्न मानेनन्। उनलाई तत्कालै निलम्बित गरियो। उनको सट्टामा एक जुनियर अफिसरले काम गरे।
पहिले उनीहरू सबैको अन्तिम संस्कार जेलभित्रै गर्ने योजना थियो। तर, त्यो विचार त्याग्नु पर्ने भयो, किनकि जेलबाट धुँवा उडेको देखेपछि जेलबाहिर रहेको भिडले जेलका अधिकारीहरूलाई हमला गर्न सक्ने आभास भयो। त्यसैले जेलको पछिल्तिरको ढोका र पर्खाल तोडियो। त्यही बाटोबाट एउटा ट्रक जेलभित्र ल्याइयो।
पहिले उनीहरूको अन्तिम संस्कार रावी नदीको किनारमा गर्ने तय गरियो। तर, रावी नदीमा पानी निकै कम थियो। त्यसैले, सतलज नदीको किनारमा शव जलाउने फैसला लिइयो। अनि तीनै वटा पार्थिव शरीरलाई फिरोजपुर नजिकैको सतलजको किनारमा ल्याइयो। त्यति बेला रातको करिब १० बजेको थियो। यसबीच उपप्रहरी अधिक्षक कसुर सुदर्शन सिंहले कसुर गाउँबाट एक पुजारी जगदीश अचरजलाई बोलाएर ल्याए।
उनीहरूको शवमा आगो लगाइएको मात्र थियो, सर्वसाधारणलाई यो घटनाबारे थाहा भयो। जब बेलायती सैनिकहरूले सर्वसाधारणलाई आफूतर्फ आइरहेको देखे, तब उनीहरू शव त्यहीँ छाडेर आफ्नो सवारीतर्फ भागे। रातभर गाउँका मानिसहरूले उनीहरूको शवलाई निगरानी गरिरहे।
भोलिपल्ट दिउँसो जिल्लाका मेजिस्ट्रेटको हस्ताक्षरसहित लाहौरका कैयौँ क्षेत्रमा सूचना टाँसियो कि भगत सिंह, सुखदेव र राजगुरुको सतलज किनारमा हिन्दू र सिख रीतिअनुसार अन्तिम संस्कार गरिएको छ। यो सूचनामा सर्वसाधारणले विपरीत प्रतिक्रिया दिए। सर्वसाधारणले उनीहरूको ‘अन्तिम संस्कार गर्नु त परको कुरा, शवसमेत राम्रोसँग नजलाइएको’ बताएका थिए।
जिल्ला मेजिस्ट्रटले यसको खण्डन गरे। तर, कसैलाई पनि उनको कुरामा विश्वास थिएन।
यी तीन जनाको सम्मानमा तीन माइल लामो भिडसहित शोक जुलुस नीला गुम्बदबाट सुरु भयो। पुरुषले विरोधस्वरुप आफ्नो पाखुरामा कालो पट्टी बाँधेका थिए र महिलाहरूले कालो साडी लगाएका थिए। लगभग सबै मानिसको हातमा कालो झण्डा थियो। लाहौर मल हुँदै अघि बढेको जुलुस अनारकली बजारको बीचमा रोकियो। जब भगत सिंहको परिवार तीन जना शहीदको नजलेका अवशेषहरू लिएर फिरोजपुरबाट त्यहाँ पुगेको घोषणा भयो, पूरै भिड शान्त भयो।
फूलले ढाकिएको तीन बक्सामा उनीहरूको शब त्यहाँ आयो, भिड भावुक हुन थाल्यो। सर्वसाधारणले आफ्नो आँसु रोक्न सकेनन्।
त्यति बेलाको एक चर्चित पत्रिकामा सम्पादक रहेका मौलाना जफर अलीले एउटा नज्म पढे, जसमा बताइएको थियो, ‘कसरी आधा जलेको शवलाई खुल्ला आकासमुनि जमिनमा छाडिएको थियो।’
त्यही बेला जेलका वार्डेन चरत सिंह सुस्त कदम चाल्दै आफ्नो कोठामा पुगे र रुन थाले। उनले आफ्नो ३० वर्षको करिअरमा सैयौं फाँसी देखेका थिए। तर, कसैले पनि मृत्युलाई यति बहादुरीका साथ स्वीकारेको थिएन, जति भगत सिंह र उनका दुई साथीहरूरुले स्वीकार गरे।
कसैलाई पनि अनुमान थिएन, उनीहरूको शहादतको १६ वर्षपछि भारतमा बेलायती साम्राज्यको अन्त्य हुनेछ। भारतको जमिनबाट बेलायती सैनिक सधैंका लागि जानेछन्।