वीरगंज । मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले समाज परिवर्तनका लागि राजनीति अपरिहार्य रहेको बताए । समुन्नत समाज निर्माणका लागि व्यापार व्यवसायसँगै राजनीतिमा पनि महत्वपूर्ण स्थान ओगट्न तेली समुदायलाई आग्रह गरे । तेली समुदाय जातीय आधारमा मधेशमा तेस्रो स्थितिमा रहेको खुलासा गर्दै अब राजनीतिक रुपमा भागिदारी र साझेदारी गर्दै नेतृत्वमा पुग्न जुट्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता शैलेन्द्र प्रसाद साहले समाज परिवर्तन तथा मधेश प्रदेशको समृद्धि र विकासका लागि सबै वर्ग र समुदाय एक हुनुपर्ने बताए । तेली कल्याण समाज पर्साको ५ औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री साहले समाज परिवर्तनसँगै राज्यसँग पहिचान, पहुँच र प्रतिनिधित्वका लागि सङ्घर्ष गर्दै समाजलाई अगाडी बढ्न आग्रह गरे ।
उनले आधी आकाश ढाकेका महिलालाई अवसरको खाँचो रहेको बताउँदै छोरा सरह छोरीलाई अवसर र शिक्षा नदिँदा मधेशमा समस्या भएको बताए । कार्यक्रममा सङ्घीय सांसद प्रमोद साहले बजार समाप्त पारेर तेली समाजमा शिक्षासँगै संस्कार समेत बदल्नुपर्ने अवस्था आएको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साहले शिक्षा र धन भए पनि राजनीतिमा पहुँच नहुँदा तेली समुदाय पछाडि परेको बताए । सोचमा परिवर्तन नआउँदा खुट्टा तान्ने प्रवृत्तिका कारण तेली समाज पछाडि परेको तेली समाजका संस्थापक सदस्य एवं केन्द्रिय उपाध्यक्ष विश्वनाथ साहको बुझाई छ ।