वीरगन्ज । सरकारले किसानका लागि कृषि बीमा कार्यक्रम सञ्चालनमा ल्याए पनि प्रभावकारी नभएको गुनासो बढ्दै गएको छ । कृषिको पशुपन्छीतर्फ किसानहरूले बीमा गरेको देखिए पनि बालीमा बीमा गर्ने किसान एकदमै न्यून रहेको बताइएको छ ।
राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालले कृषि बीमा कार्यक्रम सन्तोषजनक नरहेको गुनासो गरेका छन् ।
किसानका लागि कृषि बीमा ल्याए पनि ठोस नीतिको अभावमा त्यो प्रभावकारी नभएको बताउँदै उनले कृषि बीमाको नीति नै परिवर्तन गरेको धारणा राखे । उनले कृषि बीमाको तथ्याङ्क हेर्दा सन्तोषजनक अवस्था नरहेको र सरकारले कृषि बीमाका लागि ठोस नीति बनाउनुपर्ने कुरामा जोड दिए ।
बीमा कम्पनीहरूको नियामक बीमा समितिले २०६९ देखि किसानलाई लक्षित गरेर कृषि बीमा कार्याक्रम शुरू गरेको थियो ।
नियामक निकाय बीमा समितिले निर्जीवन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन गरेको थियो । तर समितिले दिएको निर्देशनअनुसार बीमा सस्थाले कृषि क्षेत्रमा बीमा गराउन नसकेको गुनासो बढ्दैछ । सरकारले कुल प्रिमियममा २० प्रतिशत मात्र किसानले र बाँकी ८० प्रतिशत सरकारले व्यहोर्ने व्यवस्था छ । गोरखापत्र दैनिकमा खबर छ ।