वीरगन्ज | सर्वोच्च अदालतमा आज पनि फुल कोर्ट (प्रधानन्यायाधीश र न्यायाधीहरूको पूर्ण बैठक) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालत नियमित सञ्चालन गर्न र न्यायालयमा उठेका प्रश्नको समाधान खोज्न भन्दै सोमबार डाकेको बैठकमा बस्न तयार नभएका न्यायाधीशहरू त्योभन्दा फरक विषयका लागि फुल कोर्ट बैठकमा बस्न लागेका हुन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरव लम्सालको निधनको शोकमा शोक प्रस्ताव पारित गर्न आज सर्वोच्चको फुल कोर्ट बैठक बस्न लागेको हो ।
एक न्यायाधीशका अनुसार शोक प्रस्ताव पारित भइसकेपछि सर्वोच्चमा इजलास सञ्चालन नगर्ने अभ्यास छ । सोही कारण सर्वोच्चमा आज पनि काम–कारबाही नहुने उनको भनाइ छ । बुधबार पनि सर्वोच्चको फुल कोर्ट बैठक बसेको थियो । सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गरेपछि फुल कोर्ट बैठक सकिएको थियो ।
न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई विवादमा तानिएका कारण प्रश्न उठेकाले मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । प्रधानन्यायाधीशले भने संवैधानिक बाटोबाटबाहेक आफू बिदा नहुने बताइसकेका छन् ।