बीरगन्ज । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिकाका वडा अध्यक्षलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
गत साउन ३ गते सरकारी नम्बर प्लेटको गाडीमा ब्राउन सुगरसहित पक्राउ परेका पकाहमैनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अमेरिका सहनीलाई पर्सा जिल्ला अदालतले सोमबार लागु औषध मुद्दामा पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताए ।
वडा अध्यक्षसहित सो मुद्दामा पकहामैनपुर गाउँपालिकाकै राम आदेश सहनी पनि जेल चलान भएको प्रवक्ता खनालले जनकारी दिए । लागुऔषध मुद्दामै पक्राउ परेका वडा सदस्य बलिष्टर सहनीलाई भने जिल्ला अदालतले एक लाख धरौटीमा छाडने आदेश दिएको खनालले बताउनुभयो ।
गत साउन ३ गते वडा अध्यक्ष अमेरिका सहनीसहित वडा सदस्य बलिष्टर सहनी र राम आदेश सहनीलाई लागूऔषध खैरो हेराइनसहित प्रहरीले पक्राउ गरेको थियो ।
राति साढे १० बजेको समयमा तीनैजनालाई बीरगन्ज महानगरपालिका वडा नम्बर १९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । चेकजाँचको क्रममा प्रहरीले वडा अध्यक्ष सहनीले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलबाट ७९ ग्राम खैरो हिरोइन बरामद गरेको थियो ।
यस्तै उनको पछाडि ना ६२ प १९४२ नम्बरको अर्को मोटरसाइकलमा आउँदै गरेका वडा सदस्य बलिष्टर र पछाडि बसेका रामआदेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । अदालतको आदेश पछि गए राति नै अमेरिका सहनी र राम आदेश सहनीलाई पुर्पक्षका लागि बीरगन्ज कारागार चलान गरिएको प्रवक्ता खनालले बताए ।