वीरगन्ज | शत्रुको स्याटेलाइटलाई विस्फोट गर्न सक्ने हतियार चीनले बनाएको छ । त्यसका लागि मिसाइल वा लेजरको उपयोग गरिरहनुपर्दैन । यस हतियारलाई स्याटेलाइटको एक्जस्ट नोजलमा राख्दा त्यसले नोजललाई ब्लक गरिदिने अनि स्याटेलाइट आफैं विस्फोट हुने चिनियाँ वैज्ञानिकहरूको कथन छ ।सबभन्दा खतरनाक कुरा, यो हतियार शत्रुले खोजेर पनि भेट्दैन । शत्रुलाई स्याटेलाइटको इन्जिनमा कुनै समस्या आएको जस्तो लाग्छ तर खासमा त्यो चीनको हतियार हुनेछ । यस हतियारको नाम एन्टी स्याटेलाइट रोबोटिक डिभाइस हो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार, चीनको च्याङटानमा रहेको हुनान डिफेन्स इन्डस्ट्री पोलिटेक्निकका प्राध्यापक सुन युनचाङले यो हतियारले स्याटेलाइटलाई विस्फोट गरेर टुक्राटुक्रा पार्नुभन्दा पनि नियन्त्रित विस्फोट गर्ने बताए । त्यसले गर्दा स्याटेलाइट पूरै खराब हुँदैन तर चीनले चाहेको जति क्षति गर्छ ।शत्रुदेशको स्याटेलाइटलाई नियन्त्रित विस्फोट गरी त्यसमा कब्जा गर्ने चीनको उद्देश्य हो । भविष्यमा स्पाईक्राफ्ट पठाएर चीनले शत्रुदेशको स्याटेलाइटको नोजल बन्द गरेर ध्वस्त पार्न सक्छ ।