वीरगन्ज । पाकिस्तानले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह दुईमा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई दश विकेटले हराएको छ । सन् १९९२ पछि पाकिस्तानले भारतलाई समग्रमा पहिलोपटक एकदिवसीय तथा टी–२० विश्वकपमा पहिलोपटक स्तब्ध पारेको हो । यसअघिका पाँचैवटा टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको थियो । दुबईको अन्तर्राष्ट्रिय रंगशालामा टस हारी पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ५१ रनको मध्यम योगफल खडा गरेको थियो ।
पाकिस्तानले लक्ष्य पछ्याउँदा १७.५ ओभरमा कुनै पनि विकेट नगुमाएर एक सय ५२ रन जोड्दै ऐतिहासिक जित हात पा¥यो । पाकिस्तानको जितमा ओपनरद्वय बाबर अजाम तथा मोहमद रिजवानले शतकीय इनिङ्सको साझेदारी गरेका थिए । बाबरले ६२ बलमा ६८ रन तथा रिजवानले ५५ बलमा ७९ रनको उत्कृष्ट योगदान दिए ।
बाबरले ६ चौका र दुई छक्का प्रहार गरे । रिजवानले ६ चौका र तीन छक्का प्रहार गरे । पाकिस्तानको जितमा महŒवपूर्ण योगदान दिएका फास्ट बलर सहिन शाह अफ्रिदी म्यान अफ दी म्याच भए । उनले बलिङको क्रममा ३१ रन खर्चेर तीन विकेट लिएका थिए । लक्ष्य पछ्याएको इनिङ्सको १७औँ ओभरमा भारतका लागि मोहमद सामीले बलिङ गरेका थिए । यस ओभरमा पाकिस्तानी ब्याट्सम्यानले १७ रन बटुले ।
यसअघि पहिलो ब्याटिङ गरेको भारतको सुरुवात निकै खराब भएको थियो । फास्ट बलर सहिन शाह अफ्रिदीले भारतका दुवै ओपनरलाई आउट पारेका थिए । उनले रोहित शर्मा (०) रनमा बोल्ड, लोकेश राहुल (०) रनमा एलबिडब्लूको धरापमा राखे । भारतले दुवै ओपनर गुमाउँदा स्कोर बोर्डमा केवल ६ रन मात्र चढाएको थियो ।
धर्मराएको ब्याटिङ इनिङ्स कप्तान विराट कोहली, रिषव पन्त तथा रवीन्द्र जडेजाले सम्हाले
विराटले सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि २५ रनको साझेदारी गरे । सूर्यकुमारले आठ बलमा ११ रन जोडे । विराटले रिषवसँग चौथो विकेटका निमित्त महत्वपूर्ण ५३ रनको साझेदारी गर्दै भारतलाई ८४–४ को स्थितिमा राखे ।
सादाव खानले रिषवलाई कट एन्ड बोल्ड गरेका थिए । रिषवले ३० बलमा समान दुई चौका र छक्का प्रहार गरी ३९ रन जोडे ।
रवीन्द्र जडेजाले १३ बलमा १३ रन तथा हार्दिक पाण्ड्याले आठ बलमा ११ रन बनाए । इनिङ्सको १८.४ ओभरमा विराटले आफ्नो विकेट गुमाए । उनले आफ्नो विकेट अफ्रिदीलाई दिए । विराटले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ५७ रनको योगदान दिए । बलिङमा पाकिस्तानका लागि अफ्रिदीले चार ओभरमा ३१ रन खर्चेर तीन विकेट हात पारे । यसैगरी, हसन अलीले ४४ रन खर्चेर दुई विकेट लिए ।