वीरगन्ज | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन्। शनिबार एमालेको देशैभरका वडा तहका अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। हामी संविधानको कार्यान्वयन गर्न खोज्ने र अरुले अपव्याख्या गरेर धज्जी उडाउन खोज्ने काम भएको छ,’ ओलीले भने, ‘राज्यका मर्यादित निकाय विवादास्पद हुने काम भएको छ। यसले संस्थामाथिको विश्वास कमजोर पार्दछ।’
विस्तारै विस्तारै प्रणाली कमजोर पार्ने काम भइरहेको ओलीको भनाइ छ। ‘प्रतिगामी शक्ति गठबन्धनका नाममा आइरहेको छ। भ्रम र द्विविधामा रहनुपर्दैन। यो देशलाई अस्थिरतामा धकेल्ने र अग्रगमन हुन नदिने काम हो,’ उनले भने,‘ यो विपरीत बाटो हो। प्रतिगमनको बाटो हो। जनताको सार्वभौमसत्ताको अपव्याख्या गर्ने काम भइरहेको छ।’
प्रतिक्रियावादीहरुको पाउमा सेवा अर्पण गर्ने काम भएको भन्दै उनले कम्युनिस्ट आन्दोलनको विर्सजन गर्ने काम भइरहेको टिप्पणी गरे। प्रतिक्रियावादी शक्ति आफूहरुका विरुद्ध आइलागेको भन्दै ओलीले त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताए।‘हरेक तहमा सानदार हिसाबले बहुमत ल्याउने तयारी गरिरहेका छौं। त्यस हिसाबले आन्दोलनमा जुट्न म आग्रह गर्दछु,’ उनले भने, ‘एमालेलाई बदनाम गर्न खोज्ने, चरित्र हत्या गर्न खोज्ने, दस्तावेजहरुमा झुट्टा लान्छना र आरोप लगाउन खोज्ने काम पनि भएका छन्।’