वीरगन्ज | चितवनको टाडीमा रहेको बकुलहर रत्ननगर अस्पतालमा गएराति तोडफोड भएको छ । युवाहरुको एक समूहले गएराति करिब पौने १२ बजे अस्पतालमा तोडफोड गरेका हुन् । हातमा सामान्य चोटको उपचार गर्न अस्पतालको आकस्मिक कक्षमा आएका युवाहरुले तोडफोड गरेका हुन् । उनीहरुले आकस्मिक कक्षको ढोकाको सिसा फुटाएका छन् । पाँचजनाको समूहमा रहेका युवाहरुले डियुटीमा रहेका स्वास्थ्यकर्मीलाई अपशब्द बोल्दै गाली गलौज गर्नुको साथै सुरक्षागार्डमाथि हातपात समेत गरेका थिए ।
एक युवाको हातमा सामान्य चोट रहेको र त्यसै समयमा अकस्मिक कक्षमा टाउकोमा चोट भएका अर्को बिरामी आएपछि स्वास्थ्यकर्मीले हातको चोट सामान्य भएको भन्दै एकैछिन प्रतिक्षा गर्न आग्रह गर्दा उनीहरुले गालीगलौच , हातपात र तोडफोड गरेको अस्पतालका सुरक्षागार्ड टेक बहादुर थापाले बताए । अस्पताल जस्तो संबेदनशिल क्षेत्रमा मदिरा सेवन गरेर आएर स्वास्थ्यकर्मीलाई गालीगलौच , हातपात तथा अस्पतालमा तोडफोड गर्नु अत्यन्तै निन्दनीय कार्य भएको भन्दै दोषीमाथी कारबाही हुनुपर्ने अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्यले माग गरेका छन् ।
अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथी दुर्वव्यवहार तथा हातपात गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अस्पतालमा जडान भएको सिसि क्यामराको फुटेजको आधारमा तोडफोड गर्नेहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टाडीका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । तोडफोड गर्ने समूहले एउटा मोटरसाइकल अस्पतालमै छोडेर भागेको प्रहरीले जनाएको छ ।