वीरगंज । दसैँको माहोलमा यतिबेला राजनीतिक दलका नेताहरू जन्मथलो र आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । गत भदौ ९ गते निर्वाचन अयोगमा दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरू पनि आफ्नो गृह नगरमा पुगेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर आफ्नो निर्वाचन महन्थ ठाकुर महोत्तरी पुगेका छन् । उनले दसैँ उतै आफन्त र कार्यकतामाझ मनाउँदै छन् । नेता शरदसिंह भण्डारी काठमाडौंमै छन् । संसदीय दलका नेता राजेन्द्र महतो आफ्नो निर्वाचन क्षेत्र जनकपुर पुगेका छन् । उनले दसैँ उतै मनाउने नेता डा. सुरेन्द्र झाले जानकारी दिए । नेता झाकाअनुसार नेता अनिल झाले रौतहटमै दसैँ मनाउने भएका छन् । यस्तै, सर्बेन्द्रनाथ शुक्ला छोरा बुहारीसँग दसैँ मनाउन अमेरिका गएका छन् । नेता लक्ष्मणलाल कर्ण पनि दसैँ मनाउन गृह जिल्ला पुगेका छन् ।
गाउँमा संगठन विस्तार पनि
दसैँमा मनाउन घर पुगेका लोसपा नेताहरूले संगठन विस्तारको काम पनिसँगै अघि बढाइरहेका छन् । केन्द्रीय कार्यकारिणी सदस्य केशव झा गाउँघरमा चाडपर्वको शुभकामना आदानप्रदानसहित संगठन विस्तारको काम पनि भइरहको बताउँछन् । गृह जिल्ला राजविराज पुगेका नेता झाले शुभकामना आदानप्रदान सँगै नयाँ दल बनेपछि कार्यकर्तामा छुट्टै रौनक पाएको दाबी गरे । नयाँ दल गठन भएसँगै गाउँगाउँमा चाडपर्वकै अवसरमा सदस्यता वितरणको काम पनि जारी भएको उनी बताउँछन् । “सदस्यता वितरण पनि भइरहेको छ, सबैको जिज्ञासा एउटै छ– कसरी प्रभावशाली दल बनाउने ?,” उनले भने ।
जनता समाजवादी पार्टीबाट अलग्गिएर दल बनेपछि कार्यकर्तामा कसरी सशक्त दल बन्छ भन्ने प्रश्न रहेको उनको बुझाइ छ । कार्यकर्ताहरूले तल्लो स्तरमा पार्टीको प्रशिक्षण कार्यक्रम माग गरेको उनी बताउँछन् । जसपाबाट विभाजन भएर लोसपा बनेपछि कार्यकर्तामा तत्कालीन पार्टी एकताप्रति वितृष्णा जागेको झाको बुझाइ छ । कार्यकर्ताहरूले त्यसलाई राजनीतिक विश्वासघातको रूपमा लिएको उनी बताउँछन् । उनकाअनुसार कार्यकर्ताहरूले स्थानीय तहको निर्वाचनका लागि तयारी गर्न स्पष्ट रणनीति माग गरेका छन् । कुनै पनि दलसँग चुनावी तालमेल गरे स्थानीय तहबाटै गर्नुपर्ने माग कार्यकर्ताहरूको रहेको उनले बताए । “चुनावी एलाइन्स गर्ने हो भने स्थानीय तहबाट गरौँ प्रदेश र केन्द्रमा मात्र गरेर हुन्न भन्ने साथीहरूको धारणा छ,” उनले भने ।
यता, गृह जिल्ला पुगेका नेता डा. सुरेन्द्र झा चाडपर्वको उत्सवसँगै राजनीतिक बहस पनि भइरहेको बताउँछन् । लोसपा नाम बाध्यताबस फरक दलका रूपमा आउनुपरेपनि आफूहरूको संगठन पुरानै भएको उनको तर्क छ । जसपाबाट विभाजन भएर लोसपा बनेकामात्र कार्यकर्ताहरूमा उर्जा थपिएको उनको बुझाइ छ । अहिले साधारण सदस्यता वितरण अभियान जारी भएकाले पनि नेतृत्वबाट सदस्यता लिने क्रम जारी रहेको उनी बताउँछन् । “कार्यकर्ताहरूले जुनसुकै दलसँग एकीकरण गर्दा पनि सल्लाह सुझाव लिएर मात्र गर्नुहोला, जसपा जस्तो एकता नहोस् भन्ने चाहना राखेका छन्,” नेता डा. झा ले भने । उनकाअनुसार जिल्लामा सामूहिक पूजामा मानिसहरूको सहभागिता सामूहिक रूपमा हुने गरेको छ । त्यहाँ पनि लोसपाको बारेमा चासो, चिन्ता र चर्चा हुने गरेको छ ।