वीरगञ्ज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकताविहीन मधेसी नागरिकको समस्या केही हप्तामा नै समाधान हुने बताएका छन् । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै दाहालले यस्तो बताएका हुन् ।
आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा संसद्मा दर्ता गराएको नागरिकता विधेयक एमालेका अध्यक्ष केपी ओलीको कारण रोकिएको आरोप लगाउँदै अब संसद्बाट नागरिकता विधेयक पास हुने बताए । हिन्दीमा भाषण गरेका पूर्वप्रधानमन्त्री रहेका दाहालले मधेससँग आफ्नो पुरानो प्रेम रहेकाले मधेमा विद्यमान नागरिकता र भूमिहीन समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
एमाले अध्यक्ष केपी ओलीको कारण रोकिएका विधेयक, विकास निर्माणका काम वर्तमान गठबन्धनको सरकारले पूरा गर्ने उनको भनाइ छ । वर्तमान सरकारले चुनाव अगाडि नै भूमिहीन र सुकुम्बासीले जग्गा प्राप्त गर्ने भन्दै वर्तमान गठबन्धनको सरकारले जनचाहनाअनुसार काम गर्ने बताए ।