वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले बिहिवारदेखि सस्तो दशैँ बजार शुरु गरेको छ । बिहिवार घटस्थापनाको अवसर पारेर संघले सस्तो दशैँ बजार शुरु गरेको हो ।बजारको भाउभन्दा १० देखि २० प्रतिशतसम्म छुटमा सामाग्री बिक्रिवितरण गरेर उपभोक्ताहरुलाई चाडवाडमा सहुलियत दिने अभिप्रायले संघले हरेक वर्ष सस्तो बजार लगाउँदै आएको छ । यद्यपी कोरोना भाइरसको महामारीका कारण यसअघि १ वर्ष सस्तो बजार लगाउन नसकिएको संघका बरिष्ठ उपाध्यक्ष अनिल पटवारीले बताए ।
बरिष्ठ उपाध्यक्ष पटवारीका अनुसार साल्ट ट्रेडिंग, घरेलुसहित जिल्ला प्रशासन कार्यालय लगायतसँग समन्वय गरी लगाइएको सस्तो दसैँ बजारमा लगभग २० वटा विभिन्न आवश्यक सामाग्रीहरुको स्टल लगाइएको छ । आदर्शनगरस्थित टिवडेवाल धर्मशाला परिसर भित्र लगाइएको सस्तो दसैँ बजारमा आम उपभोक्ताहरूले प्रयोग गर्ने खाद्यान्न सहित किराना समानदेखि ग्याससम्मका सामाग्री सस्तो मूल्यमा उपलब्ध गराइने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताको भनाई छ ।